मन्त्री श्रेष्ठ भन्छन् : दुई करोड माग्ने रास्वपा सांसद श्रेष्ठमाथि अनुसन्धान हुन्छ



काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुइ करोड पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानविन हुने बताएका छन् ।

श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको तर त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै रकम मागेको अडियो हिजो सार्वजनिक भएको थियो । रास्वपाले कारवाहीको प्रक्रिया अघि बढाएको बताइसकेको छ ।

सरकारले पनि उक्त अडियोमाथि छानविन गर्नुपर्ने माग भइरहेको छ । मन्त्री श्रेष्ठले सरकारले अनुसन्धान गर्ने भन्दै त्यसबाट जे पुष्टि हुन्छ, त्यही अनुसार अघि बढ्ने चितवनमा संवाददाताहरुसंग बताएका हुन् ।

‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताए ।

रास्वपाले भने सांसद श्रेष्ठलाई साधरणसमेतबाट समेत निलम्वन गरेर एक साताभित्र अनुसन्धान गरी थप कारवाही गर्ने बताएको छ । अध्यक्ष रवि लामिछानले कारवाही गरिेने बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ०० बजे