नारायणप्रकाश (एनपी) साउदले परराष्ट्रमन्त्रीमा नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हालेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिएका उनी विसं २०४३ मा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा केन्द्रीय सभापति भएका थिए । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते डडेल्धुरामा जम्एिका उनीको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् ।

मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे । मन्त्री साउदले भने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ३१ बजे