सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते



खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन् । युद्धविरामका लागि क्षेत्रीय एवम् विश्वव्यापीरूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई वेवास्ता गरेका छन् । विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाई भएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षका सेना प्रमुखसँग मङ्गबार टेलिफोन गरेर तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससहित बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले खार्तुमबाट अमेरिकी कर्मचारीलाई उद्धार गर्ने कुनै योजना नरहेको बताएका छन् । हाल खार्तुम विमानस्थल बन्द छ भने सुरक्षा चासो बढेको छ ।

सोमबार खार्तुमको मुख्य विमानस्थलमाथि धुवाँको बादल देखिएको थियो भने टेलिभिजनमा आगो र विष्फोटका दृश्य प्रसारण गरिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ०४ बजे