भारतमा परिवार नियोजन: महिलाको लागि बोझ र जोखिम



भुडबरल । भारतको एक ग्रामीण क्लिनिकको अप्रेसन थियटरमा काजल नाउँ गरेकी एउटी महिलाले बन्ध्याकरणको लागि प्रतीक्षा गरिरहेका समय घरीघरी भित्र अपरेशन कोठाबाट महिलाको चित्कार सुन्न सकिन्थ्यो ।

“एनेस्थेसिया सुरु भएको हुनुपर्छ,” उत्तर प्रदेशको उत्तरी गाउँ भुडबरालस्थित स्वास्थ्य केन्द्रको बिरामी विश्राम कक्षमा उपलब्ध एक जना स्वास्थ्यकर्मीले भनिन् । उक्त कक्षमा रङ्गीन हेडस्कार्फ लगाएका महिलाहरूको एक समूह लाइनमा बसेर ५० मिनेटको चिकित्सकीय सेवाका लागि पर्खिरहेका थिए । परिवार नियोजनको उक्त सेवा निः शुल्क भएपनि कहिलेकाहीं जोखिमपूर्ण र चिन्ताको बिषय बन्ने गर्छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० पछि पहिलो पटक गत वर्ष जनसङ्ख्या घटेको चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ ।

भारत सरकारले सन् १९५२ मा राष्ट्रव्यापी परिवार नियोजन कार्यक्रम शुुरु गरेको थियो । संसारभरी गर्भनिरोधलाई निरुत्साहित गर्न थाल्नुभन्दा धेरै अघि नै यो कार्यक्रम शुरू भएको थियो ।

त्यसपछिका दशकहरूमा, निरोधक चक्की र कण्डम लाखौं मानिसहरूका लागि गर्भनिरोधक विधिहरू बन्न थालेपछि सन् १९७० को दशकमा भारतका पुरुषहरू जबर्जस्ती बन्ध्याकरणको क्रूर कार्यक्रमको सिकार भए ।

त्यसपछि भारतमा ‘ट्युबल लिगेसन’ भनिने जन्म नियन्त्रणको मनपर्ने विधिको साथ महिलाहरूमा ध्यान केन्द्रित भएको छ । पुरुषहरूको लागि एक गैर–आक्रामक भ्यासेक्टोमी उपलब्ध छ तर काजल जस्ता महिलाहरू प्रायः करिब २५ अमेरिकी डलरको नगद प्रोत्साहनको साथ प्रायः सरकारी स्वास्थ्यकर्मीहरूद्वारा निःशुल्क प्रदान गरिने यस सेवा लिन आश्वस्त हुन्छन् ।

२५ वर्षीया काजलले आफू र उनका पति दीपकले आफ्ना तीन सन्तानको गुजारा चलाउन नसक्ने भएकाले शल्यक्रिया गर्ने निर्णय गरेको बताइन् ।

“यसले मलाई कमजोर बनाउँछ भन्ने लागेको थियो,” कारखानामा काम गर्ने दीपकले भ्यासेक्टोमी नगर्नुको कारण सोध्दा भने ।

पपुलेशन फाउन्डेसन अफ इन्डियाकी पुनम मुत्रेजाले १० मिनेटको भ्यासेक्टोमीले आफूलाई कसरी असर गर्छ भन्ने दीपकको डर अझै पनि पितृसत्तात्मक समाजमा सामान्य रहेको बताए ।

मुत्रेजाले भने, “पुरुष र महिला दुवैमा सबैभन्दा लोकप्रिय मिथक के छ भने भ्यासेक्टोमी गरेपछि पुरुषले आफ्नो पुरुषत्व गुमाउँछ ।”

“यो एक मिथक हो जसमा कुनै विज्ञान छैन । तर यो एक विश्वास हो । विश्वास नै जनताको वास्तविकता हो,” उनले भने ।

सन् २०२२ को अप्रिलदेखि यस वर्षको मार्चसम्मको अवधिमा छ जना पुरुष र १८० भन्दा बढी महिलाको बन्ध्याकरण गरिएको छ ।

“पुरुषहरूको लागि नो–स्केलपेल भ्यासेक्टोमीले नपुंसकता निम्त्याउँछ भन्ने गलत धारणा मानिसहरूमा छ,” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आशिष गर्गले भने, । “गलत धारणाले गर्दा यो सेवा प्राय प्रयोगबिहीन बनिसकन लागेको छ ।”

भारतमा विशेष गरी दुई तिहाइ जनसङ्ख्या बसोबास गर्ने विशाल ग्रामीण भेगमा महिलाहरूमाथि ‘ट्युबल लिगेसन’ गर्ने अस्थायी बन्ध्याकरण क्लिनिकहरू सामान्य छन् ।

दक्षिणी राज्य तेलङ्गानामा गत वर्ष ट्युब बाँधेर चार महिलाको मृत्यु भएको थियो भने अन्य नौ जना अस्पताल भर्ना भएका थिए ।

सन् २०१४ मा छत्तीसगढराज्यको एक अस्थायी क्लिनिकमा बन्ध्याकरणका कारण कम्तीमा ११ महिलाको मृत्यु भएको थियो ।

मुत्रेजाले गर्भनिरोधलाई बढावा दिन सरकारले अझै धेरै काम गर्नुपर्ने बताए । उनले धेरैभन्दा धेरै पुरुषलाई बन्ध्याकरण सेवा गराउनका लागि राम्रो चेतना (शिक्षा) नै समाधान भएको बताए ।

उनले भने, “यो एक जादुई गोली हो । स्वास्थ्य र शिक्षामा लगानी गर्दा परिवार र राष्ट्रको आर्थिक लागत पनि कम हुने थियो ।”

तर स्थानीय ६४ वर्षीय हरबीर सिंहले भने, “अझै पनि भ्यासेक्टोमीले पुरुषहरूलाई काम गर्न र परिवारका लागि खानाको जोहो गर्न आवश्यक ‘शक्ति’ लाई कमजोर बनाउँछ ।

“पुरूषले बाहिर गएर कमाउनुपर्छ । महिलाहरू खाना बनाएर घरमै बस्छन् । त्यसैले उनीहरूले सेवा लिँदा फरक पर्दैन तर पुरूषले लिँदा यो परिवारका लागि अभिशाप हुनसक्छ ।”

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ५१ बजे