हैदराबाद । एघार वर्षीया आकर्षणा सतिसले हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।
एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । गत बुधबारदेखि ती पुस्तकालय सञ्चालनमा आएका छन् । प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयको उद्घाटन भएको छ ।
कोरोना महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक सङ्कलन गरेको आकर्षणाले बताएकी छन् । उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन्भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन् । आफ्ना पिताजीको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन् । खाजाखर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन् ।
पुस्तकालय नभएका स्थानमा पुस्तक दान गरेर पुस्तकालय स्थापना गरेकी आकर्षणाप्रति भारतीय प्रहरी सेवाकी शिखा गोले आभार व्यक्त गरेकी छन् । कन्या बाल सुधारगृहमा पुस्तकालयको उद्घाटनपछि उनले भनिन् ।
प्रतिक्रिया