शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग



काठमाडौँ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए ।

सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेको काठमाडौँमा ल्याएर उपचार गर्न सरकारसँग माग गरे । घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेता पौडेलले भने, “देशमा सरकार छ कि छैन? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।”

उनले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे । उनले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गरे ।

नेता पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरे ।

बौद्धिक पलायन रोक्न सांसदको माग
प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।

सांसद गणेश पराजुलीले गत राति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीका बारेमा सजग गराए । सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकतालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताए । सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गरे ।

सांसद डा अमरेशकुमार सिंहले मुलुकमा चरम भ्रष्टाचार बढ्दै गएको हुनाले त्यो रोक्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए । शान्तिप्रक्रियाका नाममा यसअघि पनि पार्टीले पैसा लिएको र अहिले पनि दुई लाख लिएर पार्टीले एक–एक लाख लिन खोजेको आरोप लगाए ।

सांसद गोकुल बाँस्कोटाले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको अवाञ्छित गतिविधिप्रति दुःख व्यक्त गर्दै सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध गर्न नसकेको टिप्पणी गरेका छन् ।

सांसद राजु थापाले सिद्धार्थ राजमार्गको रानीघाट पुल तत्काल निर्माण गर्नुपर्ने र त्यसले नेपालको पर्यटकमार्फत आर्थिक अवस्थामाथि उठाउनका लागि सहयोग गर्ने बताए । उनले उक्त राजमार्ग निर्माण गर्ने क्रममा पीडित परिवारलाई राहत प्रदान गर्न आग्रह गरे ।

पुष्पबहादुर शाहले माथिल्लो कर्णाली जलविद्युत् भारतको जिएमआर कम्पनीले बनाउने भने पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो जलविद्युत् निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : २१ बजे