विश्व मजदुर दिवसका अबसरमा काठमाडौंमा सुनिए ‘मजदुर कवि’



काठमाडौं । विश्व मजदुर दिवसका अबसरमा सोमबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’ले प्रभावशाली कविता सुनाएर सबैको मन जितेका छन्।

मण्डला थिएटरमा खचाखच दर्शकबीच उनको पहिलो कविता कृति ‘भुइँमान्छेका कविता’ लोकार्पण, सम्मान र एकल वाचन भएको थियो। उपश्थित दर्शकले खुलेर उनको प्रशंसा गरेका थिए। प्रतीकले १० ओटा कविता सुनाए।

बरिष्ठ साहित्यकार माया ठकुरी, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा लोकार्पण गरेको कृतिमा ३३ ओटा कविता छन्।
कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि ठकुरीले ‘प्रतीक’लाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेकी थिइन्। विगत तीन दशकदेखि कविता, कथा र गजल लेखन मार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएस्वरुप सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए।

त्यस्तै कवि अभय श्रेष्ठले कविता माथि टिप्पणी गर्दै प्रतीकका कवितामा परिश्रमको सुगन्ध भेटिने बताए। अर्का साहित्यकार श्रेष्ठले प्रतीकसँगको सम्बन्ध बारे प्रकाश पारेका थिए भने प्रमुख अतिथि ठकुरीले आशीर्वचन प्रदान गरेकी थिइन्।

त्यस अबसरमा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरि वर्सेनी एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे। यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो।

दिनभरि मजदुरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोगन गरे।

पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्।
उनी ६० वर्षको उमेरमा जीवनमै पहिलो पटक आइतबार काठमाडौं आइपुगेका हुन्। पहिलो पटक हवाई जहाज चढेर छोरा र छोरीसहित काठमाडौं उत्रे लगत्तै उनीहरुलाई कार्यक्रम संयोजक भादगाउँलेले पशुपतिनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र र ठमेल घुमाएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ५७ बजे