एमाले अध्यक्ष ओली भन्छन : भुलभुलैयामा नपरी अव सचेत र गतिशील युवाले मुलुक बनाउनुपर्छ



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभएको छ ।

एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताउनुभयो । हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उहाँको भनाइ थियो ।

“निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ । निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ”, उहाँले भन्नुभयो, “उद्योग बन्द गराउने काम हुनुहँुदैनथ्यो । हिजो भए । अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ ।” उहाँले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताउनुभयो । “समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ । हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ”, उहाँले भन्नुभयो, “हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ ।”

उहाँले देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा राख्नुभयो । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राख्नुभयो । “भ्रम, भावनाबाट देश बन्दैन । हामीले योजनाबद्ध ढङ्गले सही नीतिका साथ देशलाई अगाडि बढाउनुपर्दछ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भए पनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको भनाइ राख्नुभयो । प्रजातन्त्र, सामाजिक समानता, लैङ्गिक समानता, शोषणको अन्त्य, थिचोमिचो र दमनको अन्त्य, समान कामको समान ज्याला, आठ घन्टा काम आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम आदि कुराको सुधार श्रमिकको सङ्घर्षबाट प्राप्त गरेको उहाँको भनाइ थियो ।

उहाँले मजदुर र जनताको हित गर्ने प्रणााली समाजवादी प्रणालीमात्र भएको भन्दै नेपाली जनताको भलाइ समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा भएपछि सबै जनताले समृद्धिको प्रतिफल प्राप्त गर्ने बताउनुभयो । टे«ड युयिनयन आन्दोलनलाई कमजोर पारेर पूँजीपति वर्गले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले आफू पूँजीवादको विरोधी भए पनि पूँजीको विरोधी नभएको स्पष्ट पार्नुभयो । “हामी पूँजीवाद विरोधी त हाँै । तर पूँजी विरोधी होइनौँ । मानिस पूँजी (धनी) हुनपर्दछ तर पूँजीवाद भनेको शोषणवाद हो, पूँजी हुनुपर्दछ भनेको समृद्ध हुनुपर्दछ भनेको हो”, उहाँले भन्नुभयो । उहाँले आफू शोषणकारी पूँजीवादको पक्षमा नभई राष्ट्रिय पूँजीवादको पक्षमा रहेको बताउनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : २८ बजे