२५६७ औँ बुद्धजयन्तीः बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विभिन्न कार्यक्रम



लुम्बिनी । २५६७ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

बुुद्धजयन्तीका अवसरमा यही वैशाख २२ गते बुद्ध पूर्णिमामा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिने लुम्बिनी विकास कोषले जनाएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विशिष्टरुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको लुम्बिनी विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

लुम्बिनीमा यही वैशाख २२ गते आयोजना हुने ‘२५६७ औँ बुद्धजयन्ती एंव लुम्बिनी दिवस’ प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराइले जानकारी दिए । विशेष समारोह अघि बिहान ६ देखि ७ बजेसम्म धार्मिक पूजा बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाको समेत सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस्तै बुद्ध पूर्णिमाकै दिन देवदहका भवानीपुर, बडिमाई, कन्यामाईजस्ता पवित्रस्थलमा शान्तिदीप प्रज्वलन कार्यक्रम स्थानीय देवदह नगरपालिकाको अगुवाइमा सम्पन्न हुनेछ । बुद्धको अस्तुुधातु रहेको रामग्रामममा यस वर्ष वैशाख २२ गतेका दिन पण्डितपुरदेखि रामग्रामसम्म ‘अस्तुुधातु यात्रा’ गरि मनाइने भएको छ ।

बुद्धजयन्तीको भोलिपल्ट बर्सेनि हुँदै आएको मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रुपमा मायादेवी शोभायात्रा वैशाख २३ गते हुनेछ । यो यात्राको रुट लुम्बिनीबाट कपिलवस्तुु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । सोही दिन तिलौराकोटमा विशेष समारोह आयोजना हुनेछ ।

कोभिड महामारीका कारण केही वर्ष औपचारिक कार्यक्रम आयोजना हुन नसकेको र गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित बुद्धजयन्ती कार्यक्रमपछि लुम्बिनीमा पर्यटकको आवागमनसमेत क्रमशः वृद्धि हुँदै गइरहेको छ ।

शाक्यमुुनि बुद्ध ई.पूू ६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूूर्णिमाका बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ । बुद्धजयन्तीको अघिल्लो दिन वैशाख २१ गते मङ्गलबार मायादेवी परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण पाठ हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ०२ बजे