चिनियाँ विदेशमन्त्रीद्वारा भारतसँगको सम्बन्धलाई स्थिर बनाउँन आह्वान



गोवा । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गरेका छन्।

बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गरेका छन्। मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताएका छन् ।

उनले दुई छिमेकीलाई एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पुर्‍याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गरेका छन् ।

चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तरराष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गरेका छन् । दुवै पक्षले दुई देशका नेताहरूले गरेका महर्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विद्यमान उपलब्धिहरूलाई सुदृढ गर्दै, कडाइका साथ पालना गरिरहनु पर्नेमा पनि जोड दिइएको छ ।

त्यसैगरी भारतीय विदेशमनत्री जयशंकरले भारत र चीनले थुप्रै क्षेत्रमा सहयोग सुदृढ गर्न आवश्यक रहेको र भारतले चीनसँगको सीमा क्षेत्रमा शान्ति र स्थायित्वको खोजी जारी राख्ने आशा राखेको पनि बताएका छन् ।

चीनले एससीओ शिखर सम्मेलनको सफल आयोजना गर्न भारतलाई समर्थन गरेको र वर्तमान अध्यक्षको हैसियतमा भारतले एकता र सहयोगको भावना देखाउने र शिखर सम्मेलनलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने आशा पनि छिनले गरेको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ४ : ०४ बजे