वीरगञ्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास कायम राख्न पत्रकारहरुले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताएका छन् ।
पर्दाफास मिडिया प्रालि वीरगञ्जद्वारा सञ्चालित पर्दाफास डेली डटकम अनलाइनको उद्घाटन तथा ‘मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै गएको बताए । उनले जनविश्वासलाई कायम राख्न आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिए ।
पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि काउन्सिल प्रतिबद्धत रहेको बताउँदै अध्यक्ष बस्नेतले आचारसंहितालाई समयसापेक्ष पुनर्वलोकनसँगै अनुगमन गरी रहेको चर्चा गरे ।
स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताका लागि प्रेस काउन्सिलले पुरस्कार र दण्डको नीति लिएर अघि बढ्को उल्लेख गर्दै उनले गलत गर्नेलाई कारबाही र राम्रोलाई पुरस्कृत गर्ने नीति अङ्गीकार गरेको प्रेस काउन्सिलले काम गरिरहेको बताए ।
पछिल्लो समय पत्रकार र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठ्नु चिन्ताको विषय भएको बताउँदै अध्यक्ष बस्नेतले समाचार विषयमा प्रश्न उठ्यो भने सच्याउने तत्परता सञ्चारमाध्यमले देखाउनुपर्ने बताए । पत्रिकाको कार्ड लिने तर पत्रकारिता नगर्ने र राज्यको सुविधा लिने तर नियमित प्रकाशन नगर्ने सञ्चारमाध्यमाथि काउन्सिलले निगरानी गरिरहेको उनले बताए । नेपालको राजनीतिक व्यवस्था परिवर्तनका लागि नेपाली सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहे पनि नेपाली मिडियाले अझै उचित सुविधा पाउन नसकेकोप्रति उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बञ्जारा लगायतले पत्रकार आचारसंहिताको पूर्ण परिपालना भए पत्रकारिताप्रतिको जनविश्वास अझै बढ्ने भएकाले सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिए ।





प्रतिक्रिया