ईयूका नेता दक्षिण कोरिया आउने



सियोल । व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ताका लागि यूरोपेली नेताहरू मङ्गलबार दक्षिण कोरिया आउने भएका छन् ।

उनीहरूले विशेष गरी द्विपक्षीय व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमबारे दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँग शिखर वार्ता गर्ने बताइएको छ ।

हिरोशिमामा सम्पन्न जी–७ शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि आवश्यक स्रोत र साधनको वैकल्पिक बजार बिस्तार गर्न दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध बिस्तारको प्रयास थालेका हुन् ।

युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युरोपेली सङ्घ र दक्षिण कोरियाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाकायम राख्न आफ्नो बलियो संयुक्त समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ ।”

विश्वको नवौं ठूलो हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई मानवीय सहायता पठाएको छ भने पोल्याण्डलाई ट्यांक र छोटो दूरीमा प्रहार गर्ने शक्तिशाली तोपगोला (होवित्जर) बेचेको छ ।

यद्यपि, सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा हतियार उपलब्ध नगराउने उसको लामो समयदेखिको नीति छ ।

गत साता सोलमा जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कासँगको भेटपछि यूनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग जी–७ सम्मेलनका क्रममा आइतबार भेटवार्ता गरेका थिए ।

हिरोसिमामा जेलेन्स्कीसँगको भेटमा युनले युक्रेनका राष्ट्रपतिको अनुरोधमा युक्रेनलाई उपकरण र एम्बुलेन्सलगायत थप गैरघातक हतियार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ईयूका नेताहरूको यो भ्रमण अर्थव्यवस्था, स्वास्थ्य, विज्ञान र प्रविधिका क्षेत्रमा व्यावहारिक सहयोग लाई सुदृढ गर्ने र क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा सहयोगलाई प्रगाढ बनाउने अवसर हुने यूनको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ४ : ५९ बजे