व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैनः प्रधानमन्त्री

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन् ।

गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उनले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका प्रतिनिधिबाट आज मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

जनताको आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण अहिलेको व्यवस्थाको अभिष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्दै उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा प्रकट गरे ।

प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासिल र विकसित राष्ट्रमा रुपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्दै उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने जिकीर गरे ।

प्रधानमन्त्री दाहालले भने, “लोकतन्त्रको विकास लोकतन्त्रभित्रबाट सम्भव छ भन्ने विषय पछिल्ला दिनका कतिपय घटनाले पुष्टि गरेका छन् ।” उनले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरेका छन् ।

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।

मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव पनि गणतन्त्र समारोहमा भाग लिन टुँडिखेल पुगेका थिए ।

समारोहस्थल सैनिक मञ्चको पूर्व, पश्चिम र दक्षिण भागमा गणतन्त्र दिवस २०८० लेखिएका ‘ब्यानर’ प्रस्तुत गरिएको थियो । कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ११ : ४९ बजे