युरोपेली सङ्घ ‘सानो क्रान्ति’का लागि तयार



पेरिस । युरोपेली सङ्घ (ईयू) ले युक्रेन र सम्भावित अन्य नौ देशलाई समेट्ने गरी ‘सानो क्रान्ति’ गर्न लागेको फ्रान्सका युरोपमामिला मन्त्रीले शुक्रबार बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले बुधबार स्लोभाकियामा गरेको सम्बोधनमा २७ सदस्यीय ईयूको विस्तारको पक्षमा दृढताका साथ आफ्नो अडान राख्दै आश्चर्यचकित पारेका थिए ।

उनले भने, “विस्तार गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न हाम्रो होइन । तर हामीले यसलाई कसरी गर्ने यो सोचनीय बिषय हो ।” म्याक्रोँले सन् २०१९ मा अल्बानिया र नर्थ म्यासेडोनियासँगको ईयू सदस्यता वार्तामा भिटो लगाएका थिए ।

युरोपेली मन्त्री लरेन्स बुनले शुक्रबार भने, “ईयू सीमाको विस्तारले ‘ठूलो धक्का’ को प्रतिनिधित्व गर्दछ जुन समूहको कार्यप्रणालीमा परिवर्तनको आवश्यकता हुनेछ । पछिल्लो पटक सन् २००४ मा ईयूको व्यापक विस्तार भएको थियो।

उनले युरोप–१ रेडियोसँग भने, “यसको अर्थ हाम्रो नीतिहरू पुनरावलोकन गर्नु, बजेटमा, संस्थाहरूमा परिवर्तन गर्नु हो । यो ‘अर्को दशकको लागि परियोजना’ हुनेछ ।”

उनले भने, “ठूलो हुनुको अर्थ ‘हामी कसरी अघि बढ्न आफूलाई सङ्गठित गर्न सक्छौँ’ भनेर विचार गर्नु पनि हो । यो एउटा सानो क्रान्ति हो ।”

ईयू विस्तारका लागि म्याक्रोँको स्पष्ट समर्थन र युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल गराउने उनको समर्थन गर्न गत वर्षको फेब्रुअरीमा रूसले आफ्नो छिमेकीमाथि गरेको आक्रमणले बाध्य पारेको हो ।

विश्लेषकहरूका अनुसार कुनै पनि नयाँ विस्तारसँगै ईयूको निर्णय प्रक्रियामा ठूलो परिवर्तन हुन सक्छ, जसका लागि धेरै नीतिगत क्षेत्रमा यसका २७ सदस्यबीच एकमत आवश्यक छ ।

आफ्नो भाषणमा म्याक्रोँले आफूले विगतमा तथाकथित ‘बहु–गतिसहितको युरोप’ को विचार उठाएको सङ्केत गरे र भने, “नयाँ देशहरू प्रवेश गरिनेछ तर ऐतिहासिक सदस्यहरूको तुलनामा फरक स्थिति र अधिकारहरू छन् ।”

युक्रेन, मोल्डोभा, जर्जिया र सबैभन्दा विवादास्पद टर्कीसहित कुल १० देशहरू ईयू सदस्यताको लागि उम्मेदवार वा सम्भावित उम्मेदवारहरू मानिन्छन् ।

युरोपलाई यथास्थितिमा राख्नुपर्ने अडान राख्दै आएका (युरोसेप्टिक) राजनीतिक दलहरूले विस्तारको विरूद्धमा चर्को असन्तुष्टि जनाइरहेका छन् ।

लामो समयदेखि इयूको आलोचना गर्दै आएकी फ्रान्सकी अति दक्षिणपन्थी नेतृ मारिन ले पेन ले सन् २०२७ मा म्याक्रोँको स्थान लिने लक्ष्य लिएकी छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ४६ बजे