केके बालवाङ्मय कला साधना सम्मान घोषणा



काठमाडौँ । वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन् ।

आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन् । बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए । उनका अनुसार यसै वर्षको मङ्सिरदेखि पुरस्कार प्रदान गरिने छ । यो सम्मान नगद रु १० हजारसहित हरेक वर्ष एक जनालाई प्रदान गरिने केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कर्माचार्यले यस पुरस्कारका लागि रु एक लाख ५१ हजारको अक्षयकोषसमेत स्थापना गरेका छन् । केन्द्रका सल्लाहकारसमेत रहेका कर्माचार्यले चित्रकला क्षेत्रमा योगदान गरेकालाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए ।

हुलाक टिकट डिजाइनमा ख्याति कमाएका कलाकार कर्माचार्य विसं २००४ मा काठमाडौँमा जन्मिएका हुन् । मुहारचित्रमा विशेष दक्खल राख्ने कर्माचार्यले चार सयभन्दा बढी टिकट डिजाइन गरिसकेका छन् ।

पृथ्वीनारायण शाहको औँलो ठड्याएको चित्रका कारण कर्माचार्य चर्चित छन् । उनले पाँच पैसादेखि एक रुपैयाँसम्म मुद्रा पनि डिजाइन गरेका थिए । यसका साथै कर्माचार्यले विभिन्न किताबमा समेत आफ्नो कला पस्किसकेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १० : २४ बजे