कला, सिर्जनाले अर्थतन्त्रको विकाससँगै मौलिकता जोगाउँछ: अर्थमन्त्री डा महत



काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को अवलोकन भ्रमण गरेका छन् ।

आज साँझ भएको अवलोकन भ्रमणका क्रममा अर्थमन्त्री डा महतलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली लगायतका पदाधिकारीहरुले कला प्रदर्शनी र प्रदर्शित सिर्जनाका बारेमा जानकारी गराएका थिए ।

सो क्रममा अर्थमन्त्री डा महतले कला र सिर्जनाले अर्थतन्त्रको विकाससँगै नेपालको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कलालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताउँदै अर्थमन्त्री डा महतले ललितकलाको विकासका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि जनाए ।

उनले ललितकला तथा हस्तकलालाई आगन्तुक पाहुना लागि कोसेली तथा उपहार दिने परम्पराका रुपमा विकास गर्न जरुरी रहेको औँल्याए । कला प्रदर्शनीबारे उनले भने, “एकदम राम्रो काम गर्नुभएको छ, यसरी प्रदर्शनी गर्दा देशैभरिका कला सिर्जनाहरु एक ठाउँमा हेर्न पाइने र यसले मौलिकता चिन्ने तथा संस्कृति आदानप्रदान गर्ने मौका मिलेको छ ।”

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १० : १४ बजे