ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ ।
स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ । उनीलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ ।
पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए ।
मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।
ओढारमा बसेका तीन जनाको सम्पर्क
ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन् । निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहाहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो । गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए । बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।
उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिए । उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी पर्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ ।” सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ । आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए ।
उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन । आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिए ।





प्रतिक्रिया