टिप्पणी

किन बन्यो समाजवादी मोर्चा ?

यो मोर्चा प्रचण्डको सत्ता लम्ब्याउन, माधव नेपालाई एक बर्षे प्रधानमन्त्री सुनिश्चित गर्न, उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउन र विप्लवलाई राजनीतिक संरक्षण दिन बनेको हो । कांग्रेस–एमाले मिलेर सरकार बनाउने तयारी हुँदै गरेको आभाषपछि भ्रमपूर्ण रक्षाकवजका लागि प्रचण्डले ‘असफल’ हरुको मोर्चा बनाएका हुन् ।



काठमाडौं– नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ तीन साना दललाई लिएर समाजवादी मोर्चाको घोषणा सोमबार गरे । प्रचण्डसँगै समाजवादी मोर्चामा समाहित भएको घोषणा गर्नेमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेत्रबहादुर चन्द्र विप्लव छन् । तर समाजवादी मोर्चाको अवधारणा ल्याउने र त्यसवारे गृहकार्य गरिरहेका डा. बाबुराम भट्टराई मोर्चाबाट ‘आउट’ भएका छन् ।

किन बाबुराम भट्टराईलाई मोर्चाबाट बाहिर राखियो, यसबारेमा प्रचण्डले निकटवर्तीहरुलाई नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवले नमानेको कारणले अवधारणा ल्याउनेलाईनै हटाउनु परेको बताएका छन् । यसका कारणहरु खुल्दै जालान् । तर बाबुरामले भने ट्वीट गर्दै व्यक्तिगत स्वार्थका लागि बाहिरिया र घरेलु शक्तिसँग मोलमालाईको क्षमता बढाउन बनाइएको यस्तो मोर्चाको औचित्य नरहेको बताएका छन् । मोर्चा तत्कालै बनाउनुको कारण सत्ताको सबैभन्दा ठूलो पार्टी कांग्रेस र भारतसँँग बार्गेनिङ गरेर सकेसम्म सत्तामा टिकिरहने भन्ने बाबुरामको आशय यर्थाथनजिक छ ।

मोर्चा नै किन चाहियो ? जवकि यी दल कांग्रेसले जुटाइदिएको बहुमतको सरकारमा सहभागि नै थिए । मोर्चा बनाउँदा समाजवाद स्थापना लगायत जति उदेश्य, लक्ष्य र कार्यक्रम राखिएका छन्, ती सवै झुट हुन् । किनकी मोर्चा घोषणा गर्ने नेता नयाँ होइनन्, यी सवै नेता दोहोरिएर, तेहोरिएर प्रधानमन्त्रीदेखि मन्त्री भइसकेका नेता हुन्, जो राजनीतिक परिक्षणमा पूर्णत् असफल प्रमाणित भएका नेता हुन् । राजनीतिमा नै असान्दर्भिक भइरहेका यी पात्रहरु जनताद्वारा परित्यक्त शक्ति हुन् भन्ने आम निर्वाचनको परिणामले देखाएकै छ ।

त्यसो भए किन चाहियो मोर्चा ? पहिलो कारण, सत्तामा बार्गेनिङ शक्ति बढाउन । भारत भ्रमणमा रहेका प्रचण्डले शेरबहादुर देउवा र आरजु देउवालाई समेत उछिनेर भाजपा सरकारको प्रिय पात्र बन्न भारतले जे चायो, त्यसमा सहमति जनाएर फर्के । प्रचण्डले सन् २००२ मा भारतको स्वार्थमा हानी नहुने काम गर्न तयार रहेको लिखित पत्र खुफिया एजेन्सी ‘रअ’ लाई पठाएर जसरी तत्कालिन संस्थापनसँग त्वशरणमा गरेका थिए, यसपटक देउवालाई फिका सावित गर्दै उनले त्यस्तै सहमति गरेर फर्के । यी सवैका पछिको एकमात्र कारण भनेको सत्तामा टिकिरहन भारतको आर्शिवाद पाउँ भन्ने हो । आफू भारतको सच्चा मित्र भएको र भारत सरकारले चाहेको काम गर्न तयार रहेको प्रतिवद्धता जनाएपछि दिल्लीमा समेत देउवाभन्दा प्रचण्डसँग व्यवहार गर्न सहज हुने निश्कर्ष छ । त्यस आशयको लेख नेपालमा राजदूत रहिसकेका भारतका पूर्वविदेश सचिव श्यामशरणले समेत भारतीय दैनिक इण्डियन एक्सप्रेसमा लेखेका छन् ।

सहमति अनुसार, दुईबर्षमा सरकार छाड्नुपर्ने प्रचण्डले सकेसम्म भारतीयलाई रिझाएर पाँचैबर्ष सरकार चलाउन खोजेका छन् । यस्तो संकेत पाएका देउवाले प्रचण्डलाई समर्थन गरिरहनुभन्दा एमालेसँग मिलेर सरकारको नेतृत्व कांग्रेसले लिएर अघि बढ्नु उपयुक्त हुने देखेर छलफलसमेत अघि बढाएका छन् । देउवासँग नजिक रहेका एक नेताले देशमा तुलनात्मक स्थिरता दिन नसक्दा व्यवस्थाविरुद्धनै वातावरण बन्न थालेकोले कांग्रेस र एमाले मिलेर अघि बढ्दा स्थिरता कायम गर्न सकिने र चाहँदा जनताका समस्या समाधान पनि गर्न सकिने भएकाले यतातिर गृहकार्य गरेर अघि बढ्नुपर्छ भन्नेमा छलफल गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शायद त्यही संकेत पाएर हुनुपर्छ सत्ता छाड्न आफू तयार रहेको धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । श्रोतका अनुसार, कांग्रेसभित्र शेरबहादुर देउवानै प्रधानमन्त्री बन्दा सकारात्मक सन्देश नजाने र प्रचण्डको भन्दा झन खराव सत्ता हुुने भएकाले शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर अघि बढ्न सकिन्छ भन्नेमा पनि छलफल सुरुभएको छ । देउवा आफैंले गगन र विश्वप्रकाशहरुको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने महत्वकाँक्षामा लगाम लगाउन र त्यहाँभित्रको शक्ति कमजोर पार्न शेखरलाई प्रधानमन्त्री बनाउने र पूर्णबहादुर खड्कालाई पार्टी सभापतिका लागि तयार पारेर अघि जान सकिन्छ भनेर आन्तरिक छलफल थालेका छन् ।

यी सवै पृष्ठभूमीमा देउवा उपचारका नाममा सिंगापुर गएका बेला प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाएका हुन् । सिंगापुर अहिले भारतीय खुफियाहरुको गोप्य बैठकस्थल भएको छ । देउवाले सिंगापुर जानुअघि प्रकाशशरण महत र एनपी साउदहरुलाई राजनीति नयाँ ढंगबाट अघि बढ्न सक्ने संकेतसमेत गरेका थिए ।

मोर्चामा माधव नेपालकोे सहभागिता, पार्टी बलियो पार्नु नभएर एकबर्षे प्रधानमन्त्री सुनिश्चितता गर्नुमात्रै देखिन्छ किनकि समाजवादीभित्र यही अभ्यास र शैलीले पार्टी बिभाजनको औचित्य पुष्टी गर्न नसकिएको निश्कर्ष बहुमत नेताको छ । त्यही निश्कर्षका साथ नेताहरु धमाधम एमालेमा फर्कदैछन् । अध्यक्ष बन्न एमाले फोरेका माधव नेपालले अव प्रधानमन्त्री बन्न हदैसम्मका अराजनीतिक हर्कत गर्छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो बुझेका सम्मानित नेता झलनाथ खनालल शुरुदेखि यस्तो मोर्चाको विपक्षमा रहेपनि सोमबार सभागृहमा भने नेपालकै बिशेष आग्रह उपस्थित भएका थिए । खनालले मोर्चाको वालुवाटार बैठकमा प्रधानशत्रु को हो ? कसका विरुद्ध आन्दोलन गर्ने हो ? कांग्रेसले दिएको प्रधानमन्त्री पद खाएर कसका विरुद्ध लड्ने हो भन्दै प्रश्न गरेका थिए । तर प्रचण्ड र नेपालले कांग्रेस मित्र शक्ति भएकाले सकेसम्म सहकार्य गरेर अघि बढ्ने जवाफ दिएका थिए ।

त्यस्तै, समाजवादी पार्टीका उपेन्द्र यादव अव मधेशमा सिके राउतको पार्टीबाट विस्थापित हुने खतरामा रहेका बेला अन्तिमपटक उपप्रधानमन्त्री हुने तयारीमा छन् । राउतसँग निर्वाचन हारेका यादवले वाराबाट जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनबाट निर्वाचन जितेर आएका छन् । तर उपप्रधानमन्त्रीका लागि यी सवै तिकडम गरेको आरोपबाट बच्न केही समय सत्ताबाहिर रहेका उनले प्रचण्डलाई आफू उपप्रधानमन्त्री हुने भएमा मोर्चामा सहभागि हुने बताएका थिए, जसमा प्रचण्ड पनि सहमत भएका छन् । यादवकै पार्टीमा पनि मोर्चावारे असन्तुष्टी छ । त्यसवाहेक लगभग राजनीति सकिएका नेत्रविक्रम चन्द विप्लवलाई उनकै जोडबलमा राजनीतिक शरण दिन प्रचण्ड तयार भएका हुन् । त्यसो त विप्लवलाई देखाएर ताण्डव मच्चाउन सकिन्छ भन्ने प्रचण्डलाई लागेको पनि हुनसक्छ ।

मोर्चा कमजोरहरुले बनाउने हो । अव सकिदैंछौं भन्ने साझा निश्कर्षमा पुगेर यी चार नेताले मोर्चा बनाएका हुन् । कांग्रेसले समर्थन फिर्ता लिनेवित्तिकै सडकबाहेक अर्को मोर्चा बाँकी नहरने भएपछि सकेसम्म मोर्चा देखाएर कांग्रेसलाई समेत तर्साउने दाउमा प्रचण्ड माधव छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : ३९ बजे