काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनकी पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा दाहालसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएकी थिइन् । पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।
प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् । सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।
पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन् । उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ”, वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।”





प्रतिक्रिया