पोखरामा मजदुर कविको सम्मान, किसान दिवसमा एकल वाचन



पोखरा । असार पन्ध्र अर्थात् किसान दिवसका अबसरमा शुक्रबार पोखराका “मजदुर कवि” इन्द्र राना प्रतीकको एकल कविता वाचन गरिएको छ। स्थानीय पुछारसिटे अभियानले दहिचिउरासँगै कविता कार्यक्रम आयोजना गरेर प्रतीकलाई मञ्चमा उभ्याएको हो। कार्यक्रममा प्रतीकले १० ओटा कविता सुनाएका थिए।

कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उनले कविता वाचन गरेका थिए। कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्तले प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बतनाए। पोखराका नयाँपुराना लेखकहरुका माझमा जोसिएर मजदुर कविले आफ्ना रचना वाचन गरेका थिए। यस अघि वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले उनको पहिलो एकल वाचन कार्यक्रम आयोजना गर्नुकासाथै पहिलो कवितासंग्रह भुइँमान्छेका कविता लोकापर्णसँगै ५१ हजार रुपैयाँसहित सम्मान गरेको थियो।

पोखराको कार्यक्रममा कवि एवम उपन्यासकार गनेस पौडेलले प्रतीकका २५ हजार रुपैयाँ बराबरका कविताकृति खरिद गरि सम्मान समेत गरेका थिए। अभियानका सल्लाहकार इश्वरमणी अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने अभियानका संयोजक सञ्जिव पौडेलले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए।

कार्यक्रमको शुरुवातमा कवि इन्द्र रानाको बारेमा कन्सेप्ट नेपाल काठमाण्डौ को तर्फबाट तयार गरेको बृतचित्र प्रदर्शन गरिएको थियो ।
जीवनभरी मजदुरी गर्दै आएका कवि प्रतीक ६० वर्षका भए। उनले कहिले सेती नदीका बालुवा चाले, कहिले घर बनाउने ज्यामी काम गरे, गत पुसदेखि भने पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्दै आएका छन्।

आफ्ना रचनामा मजदुरका कथाव्यथा लेख्दै आएका र जीवनभरी मजदुरी गरेकाले जनस्तरबाट उनले “मजदुर कवि” उपमा पाएका हुन्। काठमाडौंमा एकल वाचन कार्यक्रम गरेपछि उनको र्चा चुलिएको छ। उनको उत्साह बढेको छ। उनले पोखरा र दमौलीबाट पनि सम्मान प्राप्त गरिसकेका छन्।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : २७ बजे