काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताए ।
उनले भने, ‘सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमान गिरेको छ । हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो ? यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन । राजीनामा दिनुस् ।’
एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि साथ दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल भएको थियो ।
संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधिसभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको थियो ।





प्रतिक्रिया