मेयर बालेनको आयो कडा ट्वीट : भारतीय गुलामहरुले नेपाल चलाउँदैछन्

सबैजना मरेका लाशहरु हुन ?



काठमाडौं– काठमाडौंका मेयर बालेन शाहले भारतीय गुलामहरुले देश चलाएको भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सवैजना सांसदहरु मरेका लाश भएको आरोप लगाएका छन् ।

उनले भारतीय गुलामहरुले देश चलाउँदा आफूमात्र विरोधमा उत्रेको र अदालतको अवहेलनामा परेको भन्दै प्रधानमन्त्री प्रचण्ड, उनलाई प्रधानमन्त्री बनाउने सांसद र सरकारप्रति आक्रोस पोखेका हुन् ।

मेयर शाहले बिहीबार राती ट्वीट गर्दै नेपालको संसदमा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेको बताएका हुन् । ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा’ उनले भनेका छन् ‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन ?’

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको बयान मंगलबार दिएपछि त्यसको चर्को विरोध भएको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति देशको सार्वभौमिकताविरुद्ध, नेपाली जनताको आत्मासम्मानमा आघात पर्ने खालको अक्षम्य भएको भन्दै प्रधानमन्त्रीको राजिनामा नै मागेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ११ : १८ बजे