‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता हुने



बेइजिङ । अन्तर्राष्ट्रिय सहयोगका लागि ‘तेस्रो बेल्ट एण्ड रोड फोरम’मा ९० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

“अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले अक्टोबरमा हुने तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा आफ्नो सहभागिता पुष्टि गरिसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार भने ।

“सेप्टेम्बर ७ मा सिल्क रोड इकोनोमिक बेल्टको १० औं वर्षगाँठ मनाइँदैछ,” प्रवक्ता माओ निङले भने ।

अक्टोबरमा अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरमको आयोजना गर्नु बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सबैभन्दा भव्य कार्यक्रम हुनेछ ।

यो फोरमले सबै पक्षलाई उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा पनि काम गर्नेछ ।

“अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले आफ्नो सहभागिता पुष्टि गरिसकेका छन् । तीमध्ये बेल्ट एण्ड रोड साझेदार मुलुकका नेता, मन्त्री र अन्य आधिकारिक प्रतिनिधिका साथै बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय समर्थन र सहभागिता जनाउने व्यापारिक समुदाय, प्रवुद्ध वर्ग र नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू रहेका छन् ।

धेरै अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि आफ्नो उपस्थिति पुष्टि गरेका छन् । साझेदारले आफ्नो सहभागिता पुष्टि गर्ने क्रम जारी रहेको र आगामी केही दिनमा यस कार्यक्रममा जोडिने प्रतिनिधिको सङ्ख्या थप बढ्ने विश्वास गरिएको उनले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ७ : ४४ बजे