संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड



काठमाडौँ । नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारले राखेका छन् ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा शनिबार आयोजना गरेको अन्तक्र्रिया, बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले संस्कृति प्रवर्द्धनसहितको कूटनीति स्थापनामा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताए । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

नेपाली भाषा, संस्कृति, रहनसहन, वेशभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिए । “देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उनले भने, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।”

नेपालको संस्कृति प्रवर्द्धनमा राजदूतको क्रियाशीलतामा संस्कृतिविद् दिवसले जोड दिए । नेपालको संस्कृतिलाई विदेशमा चिनाउन राजदूतहरूले साथ दिँदामात्रै पनि ठूलो फड्को मार्ने उनको भनाइ थियो । “देशको पहिचान देशभित्र मात्रै हुँदैन । भाषा र संस्कृतिले नागरिकको पहिचान दिनुका साथै विदेशमा बस्दा यहाँको संस्कृतिको महत्व अझ बढी हुन्छ”, उनले भने, “यसका लागि राजदूतले सहजीकरण गरिदिनुपर्ने हुन्छ । भाषा र संस्कृतिको प्रयोग गरिएन भने औपचारिकतामात्रै बाँकी रहन्छ, हराउँदै जान्छ ।”

राजदूतहरू सांस्कृतिक कार्यक्रममा सरिक हुनुपर्ने कवि दिवसको भनाइ छ । आफू नेपाली संस्कृतिको प्रकृतिसँग सम्बन्ध प्रगाढ रहेको उनले बताए । नेपालका लोकगीत, नाचगान, वेशभूषा, रहनसहनको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको दिवसले बताए ।

सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताए । संकृति र भाषाका माध्यामबाटै नेपाललाई विश्व समुदायमा चिनाउन सकिने उल्लेख गर्नुहुँदै उनले हामी कमजोर छौँ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए । देशको आफ्नो छुट्टै पहिचानका लागि संस्कृति महत्त्वपूर्ण औजार हुने उनको धारणा थियो ।

थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओलीले नेपालका असल अभ्यासबारे विश्व समुदायलाई कसरी जानकारी दिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताए । संसारले सहिष्णुता चाहेको र नेपाल सहिष्णु मुलुकका रूपमा पहिचान बनाएकाले विश्व समुदायलाई शान्ति तथा सहिष्णुताको सन्देश दिनसक्ने उनको भनाइ थियो ।

कूटनीतिको ‘सफ्ट पावर’का रूपमा भाषा, संस्कृति रहने उल्लेख गर्नुहुँदै राजदूत ओलीले आधुनिक बसाइँसराइले नेपाली संस्कृतिलाई विस्तार गर्ने अवसर पनि सिर्जना गरेको बताए । नेपाली भाषा तथा संस्कृतिलाई विश्व समुदायसँग जोड्न राजदूतले संयोजन गर्न सक्ने उनले बताए ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भाषा, संस्कृति, रहनसहन, वेशभूषा नेपालको पहिचान रहेको जनाउँदै यसको पुस्तान्तरण हुन आवश्यक रहेको बताए । विदेशका विश्वविद्यालयमा पढ्ने र पढाउने जनस्रोतलाई परिचालन गरेर संस्कृति प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले विदेशमा रहेका नेपाली परिवारले आफ्ना सन्ततिलाई नेपाली भाषा अनिवार्यरूपमा सिकाउन आवश्यक रहेको बताए । सांस्कृतिक प्रवर्द्धनका लागि दूतावास र राजदूतको भूमिका रहनेबारे आफू जानकार रहेको पनि उनले स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले नेपालमा पर्यटन गतिविधि बढाउनका लागि पनि सांस्कृतिक प्रवर्द्धन आवश्यक रहेको बताए । विश्वभर पहिचानको लडाइँ चलिरहेकाले नेपालले आफ्नो लय बिर्सन नहुने उनको भनाइ छ । त्यस्तै विश्व समुदायमा नेपाली संस्कृति प्रवर्द्धनका लागि आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि जनाए ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष वरिष्ठ लोकगायक बमबहादुर कार्कीले संस्कृति प्रवर्द्धनका लागि कुन क्षेत्रबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमा आयोजना गरिएको बताए । नेपालको लोकसंस्कृतिलाई स्वदेशमा मात्र नभई विदेशसम्मै प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ५ : ०० बजे