नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय, बिहीबार सार्वजनिक बिदा



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

पार्टी कार्यालयमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, , वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा जानु भई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रिय कार्यालय गएर पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जलि दिएकी छन् ।

यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुगेका छन् ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।

समाजवादी मोचाद्वारा दुःख व्यक्त
यसैबीच समाजवादी मोर्चा नेपालले संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै नेता नेम्वाङको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनका योद्धा गुमाएकामा दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा असल र सादगी नेता नेम्वाङको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गरेका नेम्वाङको निधनको खबरले आफू स्तब्ध भएको उनको भनाइ छ । उनले लोकतन्त्रको स्थापना तथा संविधान निर्माणमा उहाँले निर्वाह गर्नुभएको योगदानको स्मरण गरेका छन् ।

गएराति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उहाँको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ ।

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय
सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक बिदा
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : १५ बजे