काठमाडौं– काठमाडौं महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।
मेयर बालेन शाहको निर्देशनमा निलम्बन भएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले निलम्बन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
छानबिन समितिलाई समेत चुनौती दिँदै पौडेलले अदालतमा रिट दायर गरेका थिए । पुस १६ मा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन भएका थिए ।
मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी यो प्रकरणमा जोडिएपछि बिदामा बसेका छन् ।
कार्यपालिकाले वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँच कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरू छानबिनमा परेका थिए ।
प्रतिक्रिया