तीज पर्वको परम्परा जोगाउनै गाह्रो

पशुपतिनाथ मन्दिर दर्शनमा सहज, दर्शनार्थीको मोबाइल कोषको नियन्त्रणमा



काठमाडौँ । आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाइन् “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”

भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउँछिन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उनी राम्रो ठान्दीनन् । उनले भनिन्, “तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।”

अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उनी त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताउँछिन् । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उनको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झँदै गुनगुनाइन्

‘हे… बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’

“दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो”, ती दिन सम्झँदै मीनाले भनिन्, “साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।” उनको पुख्र्यौली घर अर्घाखाँची हो ।

तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उनले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गरिन् ।

‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी
दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी’

‘दुई दिन माइत जान पाइन तीजका बेलामा
म चेलीको आँसु झ¥यो दैलो ठेलामा ।’

गोरखाको मैलुङमा बाल्यकाल बिताएकी मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुन्छीन्। श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उनीसँग छ । उनले बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उनको अनुभव छ ।

“दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो”, विगत सम्झँदै राधिकाले भनिन्, “भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।”

राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उनीहरुको तर्क छ ।

वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउँछन् । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उनले भने, “परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।” धर्म र पर्वको सही प्रयोग गर्नसके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवद्र्धन हुनसक्ने दाहालको भनाइ छ ।

तीज र यस्तै हाम्रा धार्मिक सांस्कृति पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।

पशुपतिनाथ मन्दिर दर्शनमा सहज
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवं परिचय पत्र बोकेका स्वयंसेवकले नै दर्शनार्थीलाई मन्दिर प्रवेशमा असहज वातावरण बनाएको सूचना पाएपछि कोषले यो वर्ष व्यवस्थित गरेको हो ।

विगत वर्षमा स्वयंसेवकले नै लाम बाहिरका मानिसलाई अनियमित रुपमा लामको बीचबाट प्रवेश गराएको सूचना पाएपछि उनलाई बाहिर निकालिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । विगत वर्षमा पशुपतिनाथ मन्दिरको मूल मन्दिर परिसर बाहिर विभिन्न सङ्घ संस्थाको ज्याकेट र परिचय पत्र लगाएर स्वयंसेवा गर्नेकै भीड लाग्थ्यो ।

कोषले स्वयंसेवक परिचालनका लागि ज्याकेटको व्यवस्था नगरेपछि पश्चिम ढोकाअघि व्रतालु महिला, सञ्चारमाध्यमका प्रतिनिधि एवं फोटो पत्रकार सीमित सङ्ख्यामा नेपाल स्काउटका स्वयंसेवक खटिएको देखिन्थ्यो ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायतमा मात्र सीमित सङ्ख्यामा स्वयंसेवकको पास दिइएको थियो । साउनको सोमबार, तीज, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नयाँ वर्षको दिन वैशाख १ गतेलगायत पर्वमा पशुपति क्षेत्रमा खटिने भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने गरिएको थियो ।

पशुपति क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं। ८ का अध्यक्ष आशामान सङ्गत कोषले यसवर्ष स्वयंसेवक परिचालनमा नियमन गरेकैले दिउँसोसम्म यस क्षेत्रको सिनामङ्गल–चावहिल क्षेत्रको चक्रपथमा सहज रुपमा सवारी चलेको बताए ।

पशुपति क्षेत्रभित्र पनि तीज पर्व व्यवस्थित देखिएको उनको अनुभव छ । पशुपति क्षेत्रमा स्वयंसेवकलाई अनावश्यक रुपमा नखटाउन स्थानीय सरकारका तर्फबाट वडा कार्यालयले पनि अनुरोध गरेको वडाअध्यक्ष सङ्गतले सुनाए ।

असोज १ गते आज विश्वकर्मा पूजा परेकाले हिजो अस्तिका तुलनामा कम सवारी सडकमा गुडेको देखिन्छ । यसका कारण पनि केही मात्रामा भक्तजन घटेको हो कि भन्ने अनुमान रहेको उनले बताए ।

जुत्ता चप्पल कक्षमा पर्याप्तमात्रामा झोला
गत वर्षहरुमा लाम बस्नुअघि भक्तजनले जुत्ता राख्नकै लागि झोला खोज्न नै समस्या हुन्थ्यो । तर यसवर्ष भने चार वटै लामबाट पुगिने जुत्ता चप्पल कक्ष नजिक झोलाको थुप्रो राखिएकाले भक्तजनलाई सहज भएको भक्तपुरको कटुञ्जेबाट आएकी दर्शनार्थी अस्मिता ढुङ्गेलले बताइन् ।

तिजका अवसरमा चारै वटा सुरक्षा निकायले समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । आज पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।

कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गरेका छन् । यो पहिलो लाम हो । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राखिएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका छन् । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राखिएको छ ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भागमा राखिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।

दर्शनार्थीको मोबाइल कोषको नियन्त्रणमा
पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन । तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ । तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनस्र्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो । पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ ।

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो । यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो ।

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यसरी कडा नियम बनाएर सशक्त रुपमा कार्यान्वयन गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरिसकेको छ ।

पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेका छन् । यसमा कोषलाई चार वटै सुरक्षा निकायले पनि साथ दिएको छ ।

तीन बजेसम्म दुई लाख दर्शनार्थी पुगे मूल मन्दिरमा
आज दिउँसो तीन बजेसम्म तीन लाख दर्शनाथी मूल मन्दिर प्रवेश गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति क्षेत्र प्रवेश गरी गजुरको दर्शन गर्ने भक्तजनको सङ्ख्या भने पाँच लाख नाघेको कोषले जनाएको छ ।

पशुपति क्षेत्र गई मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न नसकिने भएमा गजुरको दर्शन गरेर पनि फर्कन सकिने शास्त्री नियम रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । तीन बजेपछि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । कोषले आज बेलुकी सात बजेसम्म मूल मन्दिरभित्र महिला व्रतालुलाई मात्र दर्शनका लागि प्रवेश गर्न दिने नियम बनाएको छ ।

नित्य दर्शन गर्न आउने पुरुष दर्शनार्थीलाई भने कोषले बिहान छ बजेअघि नै दर्शन गराएको थियो । आज बेलुकी लाममा आउनेजति सबैलाई दर्शन गर्न दिने कोषले जनाएको छ । महिलालाई भने सुरक्षाका कारण राति नौ बजेपछि मन्दिर क्षेत्रमा नआउन कोषले अनुरोध गरेको छ ।

दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा
तिजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक लोभ देखिएको छ । सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताइन् ।

दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्यसैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ । निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् ।

पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ४५ बजे