युद्धका कारण विश्व आक्रान्त भएका बेला केही कम्पनीहरूलाई भने अभूतपूर्व नाफा



इरान अमेरिका–इजरायल युद्धका कारण विश्व नै आर्थिक दबाबमा परिरहेका बेला केही कम्पनीहरूले भने अभूतपूर्व नाफा कमाइरहेका छन्।

युद्धका कारण सिर्जिएको अनिश्चितता र इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि ऊर्जा आपूर्ति प्रभावित भएको छ, जसले तेल तथा ग्यासको मूल्य आकासिएको छ। यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिदेखि सरकार, व्यवसाय र सर्वसाधारणको बजेटसम्म परेको छ।

तर अर्कोतर्फ, युद्ध वा ऊर्जा बजारको अस्थिरताबाट प्रत्यक्ष लाभ उठाउने केही क्षेत्र र कम्पनीहरूले अर्बौं डलर नाफा कमाएका छन्।

युद्धको सबैभन्दा ठूलो आर्थिक असर ऊर्जा बजारमा देखिएको छ। विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास स्ट्रेट अफ होर्मुजमार्फत ओसारपसार हुने भएकाले त्यहाँको अवरोधले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा तीव्र उतारचढाव आएको छ।

यसबाट विशेषगरी युरोपेली तेल कम्पनीहरूले फाइदा उठाएका छन्। बीपीको नाफा वर्षको पहिलो तीन महिनामा दोब्बरभन्दा बढी बढेर ३.२ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो ट्रेडिङ डिभिजनको “असाधारण” प्रदर्शनलाई यसको कारण बताएको छ। शेलले पनि पहिलो त्रैमासिकमा ६.९२ अर्ब डलर नाफा कमाउँदै विश्लेषकहरूको अनुमानभन्दा राम्रो नतिजा सार्वजनिक गरेको छ। टोटलएनर्जीजको नाफा झण्डै एकतिहाइले बढेर ५.४ अर्ब डलर पुगेको छ।

अमेरिकी कम्पनी एक्सनमोबिल र शेभरनको आम्दानी गत वर्षको तुलनामा केही घटे पनि युद्ध सुरु भएयता तेलको मूल्य उच्च रहेकाले आगामी महिनामा थप नाफा हुने अपेक्षा गरिएको छ।

इरान युद्धले विश्व वित्तीय बजारमा अस्थिरता बढाएपछि ठूला बैंकहरूले पनि ठूलो नाफा कमाएका छन्।

जेपी मोर्गनको ट्रेडिङ व्यवसायले सन् २०२६ को पहिलो तीन महिनामै ११.६ अर्ब डलर आम्दानी गरेको छ, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो।

जेपी मोर्गनसहित बैंक अफ अमेरिका, मोर्गन स्ट्यान्ली, सिटीग्रुप, गोल्डम्यान स्याक्स र वेल्स फार्गो गरी “बिग सिक्स” बैंकहरूको संयुक्त नाफा ४७.७ अर्ब डलर पुगेको छ।

विशेषज्ञहरूका अनुसार युद्धका कारण लगानीकर्ताहरूले जोखिमपूर्ण लगानीबाट पैसा निकालेर सुरक्षित मानिने सम्पत्तिमा लगानी गर्न थालेपछि शेयर तथा मुद्रा कारोबार अत्यधिक बढेको हो।

युद्धबाट प्रत्यक्ष लाभ उठाउने अर्को क्षेत्र हो रक्षा उद्योग। विशेषगरी अमेरिका र युरोपमा मिसाइल प्रतिरक्षा प्रणाली, ड्रोन प्रतिरोधी उपकरण तथा सैन्य सामग्रीको माग तीव्र रूपमा बढेको छ।

बीएई सिस्टम्सले यस वर्ष बिक्री तथा नाफामा बलियो वृद्धि हुने जनाएको छ। लकहिड मार्टिन, बोइङ र नर्थरोप ग्रुम्यान जस्ता ठूला रक्षा कम्पनीहरूले रेकर्ड स्तरको अर्डर प्राप्त गरेका छन्।

युद्धका कारण विभिन्न देशहरूले आफ्नो हतियार भण्डार पुनः भर्न थालेपछि रक्षा क्षेत्रमा थप लगानी बढेको विश्लेषण गरिएको छ।

इरान युद्धले जीवाश्म इन्धनमा निर्भरता कम गरेर वैकल्पिक ऊर्जातर्फ जानुपर्ने आवश्यकता पनि उजागर गरेको छ।

विशेषज्ञहरूका अनुसार ऊर्जा सुरक्षालाई बलियो बनाउन सौर्य, पवन तथा विद्युतीय सवारी साधनमा लगानी बढ्न थालेको छ ।अमेरिकाको नेक्स्टएरा इनर्जीको शेयर मूल्य यस वर्ष १७ प्रतिशतले बढेको छ। डेनमार्कका पवन ऊर्जा कम्पनी भेस्टास र ओरस्टेडले पनि उच्च नाफा सार्वजनिक गरेका छन्।

बेलायतमा अक्टोपस इनर्जीले युद्ध सुरु भएयता सौर्य प्यानल र हिट पम्पको बिक्री ५० प्रतिशतले बढेको जनाएको छ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य बढेपछि विद्युतीय गाडीको माग पनि बढेको छ, जसबाट विशेषगरी चिनियाँ उत्पादकहरूले लाभ उठाइरहेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १२ : १८ बजे