पल्सर स्पोर्ट्स अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक



काठमाडौँ, २६ माघ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पो अवार्ड २०७९ को चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो।

वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन मनोनयन गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल भएका छन्।

यस पटक २०औं संस्करण माघ २* गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदै छ। वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा परेका छन्।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिएका छन्। यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो। यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो।

यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो। पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ। मञ्चका महासचिवसमेत रहेको खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुआतमा शीर्ष आठको मनोनयन गरिएको बताए।

‘हाम्रो उद्देश्य धेरैभन्दा धेरै नेपालका खेलकर्मीले यो अवार्डप्रति अपनत्व होस् भन्ने उद्देश्य हो। त्यसैले सुरुमा आठ जनासम्म मनोनयन बढाएका हौं,’ संयोजक ओलीले भने। पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन्। मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरण पुगेको जनाएको छ। उनीहरूका लागि ई–सेवाबाट भोटिङ र मञ्चको NSJF Pulsar Sports Award तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेज Pulsar Nepal बाट भोटिङ शनिबार मध्यरातसम्म जारी रहनेछ।

स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन हुनेछ। यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। त्यसमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र बिमा पोलिसी प्रदान गरिनेछ। स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन्।

चार विधाका शीर्ष तीनमा परेका खेलाडी

वर्षका उत्कृष्ट खेलाडी महिला
अनुशा मल्ल (बास्केटबल)
– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नेपालले खेलेको तीनमध्ये दुइ खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

पुष्पा भण्डारी (एथलेटिक्स)
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

वर्षका उत्कृष्ट पुरुष खेलाडी
आसिफ शेख (क्रिकेट)
–वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी
–विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
–एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी

दीपक अधिकारी (एथलेटिक्स)
–एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ४ स्वर्ण र १ रजत
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
–नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
–दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
–कान्तिपुर हाफ म्याराथनमा रजत

रोहित पौडेल (क्रिकेट)
– नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान
–वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल
–स्कटल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान

वर्षका उत्कृष्ट युवा खेलाडी
देव खनाल (क्रिकेट)
– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता

राममाया बुढा (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण

सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी

वर्षका उत्कृष्ट प्रशिक्षक
चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक

दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।

जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी विश्वकप क्रिकेटमा पुग्न सफल

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : १६ बजे