फागुन १ काठमाडौँ । मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।
नेपालले समुह डी को अन्तिम खेलमा माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।
नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो।
यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो।
नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन्। रुबिनाले टि२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ किर्तिमान बनाएकी छन्। यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन्।
त्यस्तै पुजा महतोले अविजित ५९ रन बनाएकी थिइन्। रुबिना र पुजाले पाँचौं विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए। यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो।
त्यसैगरी यस खेलमा कविता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन्।
यो जितपछि नेपाल समुह डी मा अपराजित रहदै क्वाटरफाइनलमा पुगेको छ। समुह डी बाट नेपालसँगै हङकङ दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ।
प्रतिक्रिया