माओवादी केन्द्रको विधान अधिवेशन २० मध्ये १३ समूहले पेस गरे सुझाव



फागुन २ काठमाडौँ । माओवादी केन्द्रको जारी विधान अधिवेशनअन्तर्गत २० मध्ये १३ समूहले सुझाव बुझाएका छन्। अब ७ समूहले बिहीबार सुझाव बुझाउने पार्टीले जनाएको छ।

सुझाव पेस गर्ने क्रममा बुधबार कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइते परिवारका तथा सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा पर्यवेक्षकका रुपमा राख्नुपर्ने बताए। पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने सुझाव उनले दिए।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै संगठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए। उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्नु नपर्ने बताए। उनले पार्टीभित्र मात्र नभइ सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गरे।

मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। बैठक बिहीबार विहान ११ बजे पुनः बस्ने जनाइएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ३७ बजे