फिरंगी नेतृत्वले गौरमा बिकास भएन: पूर्वमन्त्री प्रभु साह



फागुन ४, रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फिरंगी नेतृत्वका कारण गौरको विकास हुन नसकेको बताए।

रौतहटको गौरमा आज आजपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर सहित रौतहट एवं मधेसको विकासका लागि धर्तीपुत्र नेताको नेतृत्व हुन आवश्यक रहेको बताए।

‘गौर वा रौतहटको विकास किन हुन सकेन् ? तपाई हामी सबैलाई थाहा छ फिरंगी नेतृत्व रहेसम्म त्यो सम्भव छैन्। फिरंगी नेताहरुको कारण रौतहट सहित मधेस मानव विकास सूचांकमा पछाडी परेको छ’ आजपा अध्यक्ष साहले भने, ‘यहाँको बिकासका लागि यहीका धर्तीपुत्र नेताको नेतृत्व हुन जरुरी छ, यी फिरंगी नेतृत्वले यहाँको बिकास हुदैन्। त्यसमा हामी सचेत हुनैपर्छ।’

फिरंगी नेताको नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताउँदै उनले मानव विकास सूचांकमा पछाडी पर्नुमा उनीहरुको आसेपासेको भ्रष्टाचारका कारण पनि रहेको उनले बताए। हरेक हिसावले मधेस भन्दा पछाडी परेको कर्णाली मधेसभन्दा मानव सूचांकमा अगाडी हुन दुःख बिषय भएको बताउँदै उनले यहाँको नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए। रौतहट सहित मधेसको विकासका लागि यहाँ विकास प्रेमी र धर्तीपुत्र नेता नेतृत्वमा हुन आवश्यक रहेको साहको भनाई रहेको छ।

प्रमुख भनिएका दलहरुको सिण्डिकेट र लुटका कारण मुलुक समृद्ध हुन नसकेको बताउँदै उनले दलीय सिण्डिकेटको अन्त्य हुनुपर्ने बताए। अहिलेको व्यवस्था असफल भएको बताउँदै साहले दलहरुको भ्रष्टाचार र सरकारको मनोमानी कार्यका विरुद्धमा आवाज उठाउँनुपर्ने समय आईसकेको बताए।

‘अहिले हेर्ने हो भने दलहरुले लुट मचाएका छन्। काम केही गर्नुछैन्, जनतालाई झुक्याउँने, आसेपासे पाल्ने, भ्रष्टाचार, अनियमितता गर्ने र समृद्धिको गफ दिने कामले आम जनता पनि आजित भईसकेका छन्’ साहले भने, ‘यो दलहरुको मनोमानीका विरुद्धमा आवाज उठाउँने समय आईसकेको छ। यो व्यवस्था, दलीय सिण्डिकेट, भ्रष्टाचार तथा कुशासनका विरुद्धमा सडकमा उत्रिन ढिला नगरौं।’

यस्तै आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्नुपर्ने माग समेत गरे। गौर हत्याकाण्डका हत्याराहरु खुलेयाम घुमिरहेको भए पनि उनीहरुलाई सरकारले किन कारवाही नगरेको भन्दै उनले सरकारसंग आक्रोश व्यक्त गरेका छन्।

हत्यारा जोगाउनका लागि सरकार छोड्ने भन्ने जस्ता कुरा गर्नेहरुले मधेसको बिकासका लागि किन बोल्दैनन् भन्दै उनले प्रश्न गरे। जसपा नेता उपेन्द्र यादवप्रति लक्षित गर्दै आजपा अध्यक्ष साहले संघीय सरकारमा सहभागि भएको मधेस सरकारको नेतृत्व समेत गरेका नेताहरु हत्यारा बचाउन सरकार छोडछु भन्नेले मधेसको बिकासका लागि किन बोल्दैनन् ? किन मौनब्रत बसेका होलान ? भन्दै प्रश्न गरेका छन्।

यसैगरी आजपाले भन्सार कानूनमा रहेको ४५ प्रतिशतको पुरस्कारको व्यवस्था हटाउँनुपर्ने माग सहित संघर्ष गर्दै आएको छ। सोही बिषयमा बोल्दै अध्यक्ष साहले भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था नहटाए सम्म पार्टीले संघर्षका कार्यक्रम जारी राख्ने चेतावनी दिए । भ्रष्टाचार बिरुद्ध संघीय राजधानी काठमाडौं देखी मधेस, पहाडका बिभिन्न ठाउँमा आन्दोलन गरिरहेको आजपाले अहिले देशैभरी संगठन निर्माण, गठन, पुनर्गठन सहित अगाडी बढी रहेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ५४ बजे