पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी



विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ ।

झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बंगलादेशलगायत मुलुकका लागि निकासी भएका हुन् ।

उल्लेखित परिमाणमध्ये सबैभन्दा बढी चिया निकासी भएको तत्यांक छ । कात्तिकदेखि पुससम्मको अवधिमा एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

यसबाहेक अलैँची, अम्लिसो, प्लाइउड र अदुवाजस्ता सामग्री निकासी भएको हो ।

यो अवधिमा ९८ करोड ९६ लाखभन्दा बढीको अलैँची निकासी भएको छ भने ५३ करोड १२ लाख ६५ हजारको १५ हजार मेट्रिक टनभन्दा बढी प्लाइउड निकासी भएको छ ।

यसैगरी, ३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिकटन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो निकासी भएको तथ्यांक छ ।

यस्तै, एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिकटन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिकटन बन्दाकोभी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको उक्त कार्यालयले जनाएको छ।

जडिबुटी निकासी पनि उल्लेख्य देखिएको छ । उक्त अवधिमा ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पिपला, दुई लाख ९५ हजारको अढाइ मेट्रिक टन अमला निकासी भएको छ।

यसैगरी, दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिटो, एक लाख ९८ हजारको दुई मेट्रिकटन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिकटन धूपी, ६ लाख ९० हजार ६ मेट्रिकटन पदमचाल र ३९ हजारको एक मेट्रिकटन चुत्रो निर्यात भएको क्वारेन्टिाइन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ४६ बजे