एमाले महासचिव पोखरेलसँग बिप्लवको एकघण्टा वार्ता, के भयो वार्तामा ?



काठमाडौं– नेकपा माओवादी (विप्लव)का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले महासचिव शंकर पोखरेलसँग आइतवार एकघण्टा भेटवार्ता गरेका छन् ।
महासचिव पोखरेलको कोटेश्वर निवासमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिवारे छलफल भएको छ ।
श्रोतका अनुसार, नेता चन्दले आफ्नो सहकारी खेतीको वारेमा जानकारी गराउँदै त्यसको व्यवसायीकरणका वारेमा सहयोग गर्न महासचिव पोखरेललाई आग्रह गरेका थिए । उनले नेपालको वाम पार्टीमा जनस्तरसम्म एमालेको राम्रो प्रभाव रहेको भन्दै एमालेले चाहँदा सामुहिक खेती प्रणालीमा सहकाय गर्न सकिने पनि उनले बताएका थिए ।
महासचिव पोखरेलले सामुहिक खेती प्रणालीले सकारात्मक सन्देश दिएको भन्दै तर त्यसलाई किसानसँग जोड्न सक्नुपर्ने सुझाव दिएका थिए ।
त्यसपछि बिप्लवले आफ्नो पार्टीले संसदीय प्रतिस्पर्धाको राजनीतिमा आउने निर्णय गरिसकेको भन्दै त्यसका लागि गृहकार्य गरिरहेको बताएका थिए । महासचिव पोखरेलले संसदीय र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट राजनीतिमा स्थापित हुनसक्ने भन्दै त्यसलाई एमालेले स्वागत गरेको स्मरण गरे । एमालेकै पहलमा बिप्लव शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा आएका हुन् ।
वाम पार्टीहरुबीच सहकार्यको वारेमा समेत बिप्लवले छलफल गर्न आएको बताएपछि त्यसमा पनि महासचिव पोखरेलले अव वाम सहकार्य वा मोर्चा भनिराख्नु नपर्ने र त्यस्तो परिस्थिति नरहेको जवाफ दिएका थिए । वाम सहकार्यमात्र होइन, दुई ठूला पार्टीबीचको एकता पनि प्रचण्ड र माधव नेपालहरुका कारण असफल भएकाले अहिले नाममात्रका वामको सहकार्यभन्दा पनि देशलाई स्थिरतातिर लैजान त्यस्तै शक्तिहरुबीच कार्यगत एकताको आवश्यकता रहेको बताएका थिए । त्यसकै परिणाम एमाले र कांग्रेसको सरकार बनेको उनले बताएका थिए ।
वर्तमान गठवन्धनले पुरा कार्यकाल काम गर्ने र २०८४ को निर्वाचनमा समेत एमाले र कांग्रेसले विना गठवन्धन एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको समेत पोखरेलले बताए ।
दुई नेताबीच विभिन्न मुद्दामा खुलेर छलफल भएको श्रोतले जानकारी दियो । बिप्लवले महासचिव पोखरेल बैचारिक नेताभएको भन्दै व्यक्तित्वबाट आफू प्रभावित भएको बताएका थिए । उता, पोखरेलले पनि विप्लवले गरेको सामुहिक खेती प्रणालीको प्रशंसा गर्दै राजनीतिकरुपमा थप प्रष्ट हुँदै प्रतिस्पर्धाको राजनीतिमा आउन आहन गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ५७ बजे