तपाईंले ‘ए’, ‘बी’, ‘ओ’ र ‘आरएच’ जस्ता रगत समूहहरूको बारेमा सुन्नुभएको होला । यी बाहेक पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन् । तर अब भारतमा एक नयाँ रक्त समूह पक्ता लागेको छ, जसको नाम हो सीआरआईबी ।
सीआरआईबीमा ‘सी’ को अर्थ हो क्रोमर (chromer), जुन हालसम्म चिनिएका ४७ रत्त समूहहरू मध्ये एक हो । ‘आई’ को अर्थ हो इण्डिया (India) र ‘बी’ को अर्थ हो बैंग्लुरु (Bangluru) । यो यस्तो रक्त समूह हो जुन बेंगलुरुकी एक महिलामा फेला परेको हो ।
यो रक्त समूह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया गर्दा चिकित्सकहरूले रगत चढाउनुपर्ने अवस्था आउन सक्छ भनेर पहिले नै एक–दुई बोतल रगत तयार राख्ने सामान्य प्रक्रिया पनि अपनाएनन् । कारण थियो — विशेषज्ञहरूले ती महिलाको रक्त समूह पहिचान गर्न सकेका थिएनन् ।
११ महिना पछि, शल्यक्रियाको दिन सम्झिँदै डाक्टर अंकित माथुर भन्छन्, “शल्यक्रिया सफलतापूर्वक अतिरिक्त रगत बिना नै सम्पन्न भयो ।”
अन्य रक्त समूहहरू भन्दा फरक
महिलाको रगत कुनै पनि परिचित रक्त समूहसँग मिल्दैनथ्यो । धेरै प्रयास गर्दा पनि रगत प्रतिक्रिया दिइरहन्थ्यो । त्यसपछि परिवारका करिब २० सदस्यहरूको रगत परीक्षण गरियो, तर कोही पनि ती महिलासँग मेल खाने भेटिएनन् ।
अन्ततः रगतको नमूना बेलायतको ब्रिस्टलस्थित इन्टरनेश्नल ब्लड ग्रुप रेफरेन्स लेबोरेटरीमा पठाइयो । यो त्यही प्रयोगशाला हो जहाँ विश्वभरका नमूनाहरू पठाइन्छन्, ताकि तिनीहरू कुनै परिचित समूहसँग मिल्छन् कि मिल्दैनन् भनेर परीक्षण गर्न सकियोस् ।
१० महिनाको विश्लेषणपछि यो निष्कर्ष निकालियो कि ती महिलाको रगतमा एक “युनिक एण्टिजेन“ छ, जुन पहिले कहिल्यै देखिएको थिएन । पछि यो जानकारी इन्टरनेश्नल सोसाईटी अफ ब्लड ट्रान्सफ्युजन आईएसबीटीमा पठाइयो र तिनीहरूको विशेषज्ञ समितिले यस एण्टिजेनलाई “सीआरआईबी” नाम दियो । सन् २०२५ को जूनमा इटलीको मिलानमा आयोजित आईएसबीटीको ३५औं सम्मेलनमा यसको औपचारिक घोषणा गरियो ।
अनुवांशिक रहस्य
एण्टिजेनहरू शरीरका प्रोटीन हुन् जुन रगतमा पाइन्छन् र व्यक्ति विशेषको जेनेटिक संरचनामा आधारित हुन्छ ।
तर यस केसमा, ती महिला एक्लै थिइन् — उनको परिवारमा कोही पनि व्यक्ति त्यो एण्टिजेन बोकेको थिएन ।
डाक्टर माथुर भन्छन्, “जसरी आमाबुबाबाट जीनको आधा–आधा जानकारी आउँछ, त्यसरी पूरै संयोजन बन्नु पर्छ । तर यो केसमा केवल आधा जानकारी थियो, त्यसैले उनको रगत पूर्ण रूपमा फरक थियो । र त्यो एण्टिजेन क्रोमर समूहको थियो ।”
हालसम्म क्रोमर रक्त समूहमा २० वटा एण्टिजेन चिनिएका थिए, तर सीआरआईबी अब २१ औं नयाँ एण्टिजेनको रूपमा समावेश भएको छ ।
इमर्जेन्सीमा यस्तो बिरामीलाई के हुन्छ ?
यी महिलाजस्ता व्यक्तिलाई आकस्मिक बिराम लागेमा सुरक्षाखतरा रहन सक्छ । यदि कसैको शरीरमा यस्तो दुर्लभ एण्टिजेन छैन भने, सामान्य रगत चढाउँदा शरीरले त्यसलाई बाह्य तत्व मानेर एन्टिबडी बनाउँछ र आक्रमण गर्छ ।
त्यस्ता अवस्थामा दुईवटा विकल्प हुन्छन्, परिवारभित्रै यस्तै रगत भएको डोनर खोज्ने ।
शल्यक्रियाका लागि बिरामीकै रगत पहिल्यै जम्मा गरेर राख्ने, जसलाई अटोलोगस ब्लड ट्रान्सफ्युजन भनिन्छ ।
यस्तो प्रक्रिया दुर्लभ रक्त समूह भएका बिरामीहरुको केसमा सामान्य रूपमा अपनाइन्छ ।
यो नयाँ रक्त समूह भारतको लागि मात्र नभई विश्वको रक्त विज्ञानका लागि पनि एक महत्वपूर्ण खोज मानिएको छ ।





प्रतिक्रिया