प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली बिरोधीहरुले संसदमा अवरोध जारी राखेको आरोप लगाउनुभएको छ । संसद्मा जारी अवरोध र बहिष्कारको आलोचना गर्दै प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरूले संविधान र लोकतान्त्रिक प्रणालीलाई स्वीकार नगरी त्यसविरुद्ध आन्दोलन गर्न खोजिरहेको बताउनुभएको हो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित पुस्तक ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ को लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीले विधानले दिएको स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई अराजकतामा परिणत गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने चेतावनी दिनुभयो ।
उनले लोकतन्त्र स्वयं गलत नभए पनि त्यसको कार्यान्वयन प्रक्रियामा देखिएका विकृति, कमजोरी र असङ्गतिहरूलाई सच्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीमा सरकार जनताको सेवक र व्यवस्थापक हो, शासक होइन, हाम्रो उद्देश्य सुशासन र समृद्धि हो ।”
निर्वाचन प्रणाली खर्चिलो भएको भन्ने आलोचनाबारे पनि उहाँले असहमति जनाउनुभयो । आफूले गृहमन्त्री वा प्रधानमन्त्री हुँदा निर्वाचन आयोगजस्ता निकायको काममा हस्तक्षेप नगरेको स्पष्ट पार्दै उहाँले उम्मेदवारहरूले सीमा नाघेर खर्च गरेको देखिएको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रा. विपिन अधिकारी, मानव अधिकारकर्मी मोहना अन्सारी र संविधानविद् गोपालकृष्ण शिवाकोटीले पुस्तकको समालोचना तथा समीक्षा गर्नुभएको थियो ।



प्रतिक्रिया