इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा ल्याउने प्रस्ताव ल्याउने तयारी गरेका छन् । सुरक्षा परिषद्को बैठकमा गाजापट्टीलाई पुनः आफ्नो कब्जामा ल्याउने प्रस्ताव गर्ने तयारी गरेका हुन् ।
यसबारे निर्णय गरी गाजापट्टीमाथि पूर्ण विजय प्राप्त गर्ने तयारी गरेको र हमासलाई परास्त गर्न लागिएको एक बरिष्ठ अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानसेनापति र अन्य सैन्य अधिकारीहरुले यसको बिरोध गरेको बारे प्रतिक्रिया दिदै ती अधिकारीले भने, ‘यदि यो योजना सेनापतिलाई उपयुक्त लाग्दैन भने, उनले राजीनामा दिनुपर्छ ।’
बन्धकका परिवारहरूले भने यस प्रस्तावले बाँकी रहेका बन्धकहरूको जीवन जोखिममा पार्ने चिन्ता व्यक्त गरिरहेका छन्, जहाँ अनुमानअनुसार ५० मध्ये २० जना अझै गाजामा जीवित छन् । उनीहरुले गाजामा थप मानवीय संकट उत्पन्न हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
इजरायलका निकट मित्र राष्ट्रहरूले पनि यो कदमको विरोध गर्ने अपेक्षा गरिएको छ । उनीहरू युद्ध अन्त्य र मानवीय संकट समाधानको लागि जोड दिइरहेका छन् । इजरायलभित्रै पनि सयौं पूर्व सुरक्षाअधिकारीहरू, पूर्व गुप्तचर प्रमुखहरूहरुले पनि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई संयुक्त पत्र लेख्दै युद्ध रोक्न प्रधानमन्त्री नेतन्याहुलाई दबाब दिन आग्रह गरेका छन् ।
हमाससँगको अप्रत्यक्ष युद्धविराम र बन्धक सम्झौता वार्ता भंग भएपछि इजरेलले नयाँ प्रस्ताव ल्याएको हो ।
इजरायली सेनाले हाल गाजाको लगभग ७५% क्षेत्रफलमा नियन्त्रण कायम गरेको बताएको छ । तर, यो नयाँ योजनाअनुसार बाँकी क्षेत्रमा पनि सेनाको पूर्ण नियन्त्रण विस्तार गरिनेछ, जहाँ अझै पनि २० लाख भन्दा बढी मानिसहरू बसोबास गरिरहेका छन् । यसले नागरिकहरू, संयुक्त राष्ट्रसंघ र अन्य राहत संस्थाहरूको गतिविधिमा कस्तो असर पार्नेछ भन्ने स्पष्ट छैन । गाजाको ९०% भन्दा बढी जनसंख्या विस्थापित भइसकेको छ ।



प्रतिक्रिया