अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथिको युद्ध अन्त्य गर्न रुसलाई दिएको युद्धविरामको समयसीमा नजिकिँदै गर्दा अमेरिकी दूत स्टिभ विटकोफ बुधबार मस्को पुगेका छन् । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न रुसले कदम नचालेमा उमाथि कडा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । रुससँग व्यापार गर्ने अन्य राष्ट्रमाथि समेत दोस्रो तहको प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले रुसले चरम आर्थिक संकटको सामना गरेपछि मात्रै शान्तिको बाटो रोज्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले प्रतिबन्ध र रुसको तेल किन्ने राष्ट्रमाथिको कर वृद्धि गर्ने अमेरिकी चेतावनी स्वागतयोग्य रहेको बताएका छन् ।
शुक्रबारसम्म कुनै सम्झौता हुने सम्भावना न्यून देखिएको छ, किनभने रुसले ट्रम्पको प्रतिबन्धको चेतावनीका बाबजुद युक्रेनमाथि हवाई आक्रमण जारी राखेको छ ।
टर्कीको इस्स्तानबुलमा युक्रेन र रुसबीच भएका तीन चरणका वार्ताले युद्ध अन्त्यको दिशामा कुनै ठोस उपलब्धि दिलाउन सकेका छैनन् । रुसले युद्ध अन्त्य गर्न राखेका सैनिक तथा राजनीतिक पूर्वशर्तहरू युक्रेन र उसका पश्चिमी साझेदारहरूलाई अस्वीकार्य छन् ।
क्रेमलिनले जेलेनेस्की र पुटिनबीच प्रत्यक्ष भेटवार्ताको युक्रेनको प्रस्तावहरू बारम्बार अस्वीकार गर्दै आएको छ ।
यसैबीच, अमेरिकी प्रशासनले मंगलबार युक्रेनलाई थप २० करोड डलर बराबरको सैन्य सहायता बिक्री स्वीकृत गरेको छ । यसअघि राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेनेस्कीबीच भएको टेलिफोन संवादमा दुवै नेताबीच रक्षा सहकार्य र ड्रोन उत्पादनबारे छलफल भएको थियो ।
युक्रेनले ड्रोन प्रयोग गरी रुसका तेल प्रशोधन कारखाना र ऊर्जा संरचनाहरूमा आक्रमण गरिरहेको छ भने रुसले युक्रेनका सहरहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ ।



प्रतिक्रिया