गाजाबाट हजारौं भाग्न थाले, अवस्था भयावह बन्दै



विवादास्पद गाजापट्टी क्षेत्रमा इजरायलले केही दिनदेखि गरेको श्रंखलाबद्ध बम बिस्फोटका कारण हजारौं घर छोडेर भागिरहेका छन् । इजरायलको श्रृंखलाबद्ध बम आक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको हमास नियन्त्रित नगर कार्यालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

गाजामा हिजो शनिबार मात्रै इजरायली आक्रमणबाट कम्तिमा ४० जनाको मृत्यु भएको छ । इजरायली सेनाले राहत संस्थाहरूलाई फेरि गाजामा पाल ल्याउन दिने घोषणा गरेको छ । इजरायलले गाजाबाट करिब १० लाख मानिसलाई जबरजस्ती विस्थापित गरी दक्षिणमा रहेका शिविरमा पुर्याउने योजना बनाएको छ ।

यसैबीच, इजरायलमा गाजा कब्जा गर्ने सरकारको योजनाविरुद्ध आइतबार एक दिने आम हड्ताल भएको छ । यो हड्ताल बन्धकका परिवार र युद्धको विस्तारले हमासले नियन्त्रणमा राखेका इजरायलीहरूको जीवन जोखिममा पार्छ भन्ने समूहले गरेका हुन् ।

यो कदम इजरायलको युद्ध क्याबिनेटले गाजा सिटी कब्जा गर्ने र त्यहाँको जनसंख्या विस्थापित गर्ने निर्णय गरेको एक हप्तापछि आएको हो, जसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले निन्दा गरेको छ ।

जैतुन क्षेत्रमा करिब ५०,००० मानिस बसोबास गर्छन्, जसलाई खाना र पानीको पहुँच लगभग छैन, नागरिक सुरक्षा निकायले जनाएको छ।
संयुक्त राष्ट्रका अनुसार गाजामा करिब १९ लाख मानिस अर्थात कुल जनसंख्याको ९०% विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रले गाजामा व्यापक कुपोषण भएको जनाएको छ । शनिबार गाजाका अस्पतालहरूले कुपोषणका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुपोषणका कारण मृत्यु भएकाको संख्या २५१ पुगेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ११ बजे