दक्षिण कोरियाले विद्यालयमा कक्षा अवधिमा मोबाइल फोन र स्मार्ट उपकरणको प्रयोग प्रतिबन्ध लगाउने भएको छ । कोरियाली संसदले सोसम्बन्धी विधेयक पारित गरेको छ । यसरी बालबालिका र किशोर–किशोरीबीच फोन प्रयोगमा प्रतिबन्ध लगाउने दक्षिण कोरिया नयाँ देश बन्न पुगेको छ ।
यो विधेयक सन् २०२६ मार्चदेखि सुरु हुने नयाँ शैक्षिक बर्षबाट लागू हुनेछ । यो कदम स्मार्टफोन लत कम गर्ने एउटा प्रयास भएको अधिकारीहरुले बताएका छन् ।
सांसद, अभिभावक र शिक्षकहरूको तर्क छ कि स्मार्टफोन प्रयोगले विद्यार्थीको शैक्षिक क्रियाकलापमा असर पारिरहेको छ ।
तर यस प्रतिबन्धप्रति संशय पनि छ – विशेष गरी विद्यार्थीहरूले यसको कार्यान्वयन कसरी हुने, यसका व्यापक प्रभाव के हुने र यसले लतको वास्तविक कारणलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने प्रश्न उठाइरहेका छन् ।
यो विधेयक बुधबार दिउँसो सजिलै पारित भयो, जहाँ १६३ उपस्थित सदस्यमध्ये ११५ जना समर्थनमा मतदान गरे ।
दक्षिण कोरियाका धेरै विद्यालयहरूले पहिले नै कुनै न कुनै रूपमा स्मार्टफोन प्रतिबन्ध लागू गरेका छन् । र उनीहरू मात्र होइनन् – अन्य देशहरूले पनि यस्तै प्रतिबन्ध लगाएका छन्।
फिनल्यान्ड र फ्रान्सले यसलाई सीमित रूपमा लागू गरेका छन् । इटली, नेदरल्याण्ड्स र चीनले भने सबै विद्यालयमा फोन प्रयोगलाई प्रतिबन्ध गरेका छन् ।
तर दक्षिण कोरिया भने यसलाई कानुनमै संस्थागत गर्ने थोरै देशमध्ये पर्छ ।



प्रतिक्रिया