विश्वमै तीब्र रुपमा फैलिरहेको हान्टा भाइरस के हो ?



स्पेनको क्यानरी टापुस्थित बन्दरगाहमा रोकिएको एमभी होन्डियस नामक क्रुज जहाजमा फैलिएको घातक हान्टा भाइरस संक्रमणपछि स्वदेश फर्किएका एक अमेरिकी र एक फ्रान्सेली नागरिकमा संक्रमण पुष्टि भएको छ। अमेरिकी स्वास्थ्य विभागले स्वदेश फर्काइएका यात्रुमध्ये अर्का एक अमेरिकीमा पनि सामान्य लक्षण देखिएको जनाएको छ। दुवै संक्रमितलाई विशेष जैविक सुरक्षा इकाइ (बायोकन्टेनमेन्ट युनिट) मा राखेर अमेरिका लगिएको बताइएको छ।

फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफानी रिस्टका अनुसार संक्रमित फ्रान्सेली महिला पेरिसमा आइसोलेसनमा छिन् र उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनीसँग सम्पर्कमा आएका २२ जनाको पहिचान गरी निगरानीमा राखिएको छ।

हाल एमभी होन्डियस जहाजमा रहेका ९० भन्दा बढी यात्रुलाई विभिन्न देशमा फर्काइँदै छ। जहाजमा यात्रा गरेका एक डच दम्पती र एक जर्मन महिलाको मृत्यु भइसकेको छ। मृतकमध्ये दुई जनामा हान्टा भाइरस पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जहाजका केही यात्रुले दक्षिण अमेरिकामा रहँदा ‘एन्डिज स्ट्रेन’ नामक हान्टा भाइरसबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। यो भाइरस सामान्यतया मुसा तथा अन्य कृन्तक जनावरमार्फत फैलिने भए पनि एन्डिज स्ट्रेनमा मानिसबाट मानिसमा पनि संक्रमण सर्न सक्ने सम्भावना रहेको बताइएको छ।

संक्रमितमा ज्वरो, अत्यधिक थकान, मांसपेशी दुख्ने, पेट दुख्ने, बान्ता, पखाला तथा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्। यद्यपि स्वास्थ्य अधिकारीहरूले ठूलो स्तरको महामारी फैलिने जोखिम भने न्यून रहेको बताएका छन्।

यसबीच विश्व स्वास्थ्य संगठनले जहाजबाट फर्किएका यात्रुलाई ४२ दिनसम्म आइसोलेसनमा राख्न सिफारिस गरेको छ। तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का कार्यवाहक प्रमुख डा. जय भट्टाचार्यले मानिसबाट मानिसमा संक्रमण दुर्लभ हुने भएकाले कोभिड–१९ जस्तो व्यापक त्रास फैलाउन आवश्यक नरहेको बताएका छन्।

हान्टा भाइरस के हो ?

हान्टा भाइरस मुसा, छुचुन्द्रा लगायत कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालमार्फत मानिसमा सर्ने एक प्रकारको भाइरस हो। संक्रमित जनावरको फोहोर सुकिसकेपछि त्यसबाट निस्किने सूक्ष्म कण सासमार्फत शरीरमा प्रवेश गर्दा संक्रमण हुन सक्छ। यो भाइरसले फोक्सो र मिर्गौलामा गम्भीर असर पार्न सक्छ। विशेषगरी दक्षिण अमेरिका क्षेत्रमा पाइने एन्डिज स्ट्रेन भने दुर्लभ अवस्थामा मानिसबाट मानिसमा पनि सर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : १४ बजे