उच्चस्तरीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति बेइजिङमा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्चस्तरीय दुईदिने भ्रमणका लागि बुधबार बेइजिङ पुगेका छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग हुने भेटवार्तामा व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानलगायतका संवेदनशील विषय एजेन्डामा रहने जनाइएको छ ।

सन् २०१७ पछि पहिलोपटक चीन पुगेका ट्रम्प यसपटक अझ शक्तिशाली र विश्व राजनीतिमा प्रभावशाली भूमिका देखाउन खोजिरहेको चीनसँग वार्तामा सहभागी हुँदैछन् । यो भ्रमण सुरुमा मार्चमा तय गरिएको भए पनि इरान युद्धका कारण पछि सारिएको थियो ।

बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । विश्लेषकहरूले चीनले उच्च तहका नेता पठाएर ट्रम्पलाई विशेष सम्मान दिएको रूपमा यसलाई व्याख्या गरेका छन् । ट्रम्पको २०१७ को भ्रमणमा भने चीनले तल्लो तहका अधिकारीलाई स्वागतका लागि पठाएको थियो ।

ट्रम्पसँगै एनभिडियाका जान्सेन हुवाङ, Tesla का इलन मस्क, एप्पलका टीम कुक तथा बोइङका प्रमुखहरू पनि बेइजिङ पुगेका छन् ।

अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध कमजोर बन्दै गएको छ । व्यापार युद्ध, उच्च भन्सार शुल्क तथा अन्य प्रतिबन्धका कारण दुई देशबीचको व्यापार सन् २०२२ को ६९० अर्ब डलरबाट घटेर गत वर्ष ४१४ अर्ब डलरमा झरेको बताइएको छ ।

ट्रम्पले विशेषगरी चीनसँगको असन्तुलित व्यापारलाई मुख्य मुद्दा बनाएका छन् । गत वर्ष अमेरिकाले चीनबाट २०० अर्ब डलरभन्दा बढी सामान आयात गरेको तर चीनमा त्यति निर्यात गर्न नसकेको तथ्यांक सार्वजनिक भएको छ ।

यसपटकको वार्ताबाट अमेरिकी कृषक र उद्योग क्षेत्रले लाभ पाउने अपेक्षा गरिएको छ । विशेषगरी अमेरिकी सोयाबिन, गाईको मासु तथा विमान निर्माता बोइङलाई नयाँ सम्झौताबाट फाइदा पुग्ने अनुमान गरिएको छ । बोइङका प्रमुख केली ओर्टवर्गले चीनबाट ठूलो संख्यामा विमान अर्डर आउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यद्यपि ट्रम्पको पहिलो कार्यकालमा भएको व्यापार सम्झौताअनुसार चीनले प्रतिबद्धताअनुसार सबै अमेरिकी सामान खरिद नगरेको अनुभव रहेकाले यसपटक पनि इतिहास दोहोरिने हो कि भन्ने चासो कायमै छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ४७ बजे