अमेरिकी सहायता प्रस्तावबीच क्युबामा चरम ऊर्जा संकट



क्युवामा चरम इन्धन अभावका कारण संकट उत्पन्न भएकाे छ । ऊर्जा मन्त्री भिसेन्टे दे ला ओ लेभीले देशमा डिजेल र फ्युल आयल पूर्ण रूपमा सकिएको स्वीकार गर्दै अवस्था “अत्यन्त तनावपूर्ण” बनेको बताएका छन् । उनका अनुसार अहिले क्युबामा आफ्नै कुवाबाट उत्पादन हुने ग्यास मात्रै उपलब्ध छ ।

लामो विद्युत् कटौतीका कारण अस्पताल, विद्यालय र सरकारी सेवा प्रभावित बनेका छन् ।क्युबामा चर्किएको ऊर्जा संकटबीच अमेरिकाले १० करोड डलर बराबरको मानवीय सहायता प्रस्ताव दोहोर्‍याएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त सहायता क्याथोलिक चर्च र “विश्वसनीय” मानवीय संस्थामार्फत वितरण गरिने जनाएको छ । तर क्युबाले भने यसअघि नै उक्त प्रस्ताव अस्वीकार गरेको अमेरिकी दाबीलाई खण्डन गरेको छ ।

अमेरिकाले गत मे महिनाको सुरुआतमा मानवअधिकार उल्लङ्घनको आरोप लगाउँदै क्युबाका वरिष्ठ अधिकारीमाथि थप प्रतिबन्ध लगाएको थियो । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ती प्रतिबन्धलाई “अवैध र दुरुपयोगपूर्ण” भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  २ : १७ बजे