चीन–अमेरिका सम्बन्धमा नयाँ संकेत: ट्रम्पलाई सीको ‘विशेष सम्मान’, व्यापार र ताइवान केन्द्रमा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणले चीन–अमेरिका सम्बन्ध नयाँ मोडमा प्रवेश गर्न सक्ने संकेत दिएको छ । विगतमा चीनविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले यसपटक अत्यन्त भव्य स्वागत गरेका छन् ।

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा सैन्य सम्मान, बन्दुक सलामी र विशेष सांस्कृतिक कार्यक्रमसहित ट्रम्पको स्वागत गरिएको थियो । स्वागतका क्रममा अमेरिकी र चिनियाँ झण्डा बोकेका बालबालिकासँग ट्रम्पले अभिवादन गरेका थिए भने सी जिनपिङसँगको भेटमा उनी निकै सहज र मित्रवत देखिएका थिए ।

भेटपछि ट्रम्पले सीलाई “महान नेता” भन्दै खुलेर प्रशंसा गरे । चीन भ्रमणलाई उनले “विशेष अवसर” भनेका छन् । यो व्यवहार त्यही ट्रम्पको हो, जसले विगतमा चीनलाई अमेरिकाको आर्थिक संकटको मुख्य कारण भन्दै आलोचना गर्ने गरेका थिए ।

दुई नेताबीचको वार्तामा व्यापार, ताइवान र इरानका विषय मुख्य एजेन्डा बनेका छन् । विशेषगरी गत वर्षको व्यापार युद्धपछि सम्बन्ध सुधारको प्रयासस्वरूप यो भेटलाई हेरिएको छ । अमेरिकी पक्षले चीनसँग आर्थिक सहकार्य बढाउन र अमेरिकी कम्पनीहरूलाई चिनियाँ बजारमा थप पहुँच दिन आग्रह गरेको छ ।

यसैबीच, चीनले ताइवानको विषयलाई संवेदनशील भन्दै अमेरिकालाई सतर्क गराएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले ताइवान मुद्दाले दुई देशबीच तनाव बढाउन सक्ने चेतावनी दिएका छन् ।

इरानसँगको बढ्दो तनाव र होर्मुज जलडमरूमध्य संकटका कारण पनि वाशिङ्टनले बेइजिङको सहयोग खोजिरहेको देखिएको छ । चीन इरानको प्रमुख व्यापार साझेदार भएकाले अमेरिका चीनमार्फत तेहरानलाई वार्तामा ल्याउन चाहन्छ ।

ट्रम्पसँग यस भ्रमणमा अमेरिकी व्यापारिक क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि सहभागी छन् ।

दुवै देशले सम्बन्धलाई “रचनात्मक, रणनीतिक र स्थिर” बनाउने सहमति जनाएको बताइएको छ । ट्रम्पले सीलाई सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन् भने सीले “चीनको पुनर्जागरण” र “मेक अमेरिका ग्रेट अगेन” सँगसँगै अघि बढ्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १० : १२ बजे