सन्दिप बने ओडिआईमा छिटो १५० विकेट लिने खेलाडी



नेपालका स्टार लेगस्पिनर सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

२५ वर्षीय सन्दीपले यो उपलब्धि केवल ७३ खेलमा हासिल गर्दै अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ७७ खेलको कीर्तिमान तोडेका हुन् । यससँगै उनी ओडीआई इतिहासमा १५० विकेट लिने सबैभन्दा छिटो बलर बनेका छन् ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यु गरेका सन्दीपले हालसम्म नेपालका लागि ७३ खेलमा १५१ विकेट लिइसकेका छन् । उनले ब्याटिङतर्फ पनि ५०० रन पूरा गरेका छन् ।

यसअघि सन्दीपले सन् २०२३ मा ओमानविरुद्ध खेल्दै सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान समेत बनाएका थिए । उनले ४२ खेलमै १०० विकेट पूरा गर्दै अफगानिस्तानका रशिद खानको ४४ खेलको कीर्तिमान भंग गरेका थिए ।

सन्दीप अहिले ओडीआई क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट राष्ट्रका बलर समेत बनेका छन् । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ७४ खेलमा १३६ विकेट लिइसकेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १२ : ४६ बजे