सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणका क्रममा लामिछानेले मोदीसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्ध, दुई पक्षीय हित र साझा समृद्धिका विषयमा छलफल भएको बताइएको छ । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटवार्ताको तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिकता प्राप्त साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको बताएका छन् । उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गरेको पनि उल्लेख गरेका छन् ।
भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते भारत प्रस्थान गरेको थियो । भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुका साथै भाजपा मुख्यालयको अवलोकन गरेका थिए।
त्यसैगरी, उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका छन् ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
लामिछाने जेठ २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया