अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने तालिका तय भएको बताएका छन् । यद्यपि इरानले सम्झौताको समयबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सम्झौता भएपछि विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताएका छन् ।
शनिबार प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप पाउने सम्भावना रहेको र त्यसका लागि विद्युतीय हस्ताक्षरको तयारी भइरहेको जनाएको थियो ।
तर त्यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेइले सम्झौतामा हस्ताक्षर हुने मितिबारे सतर्क प्रतिक्रिया दिएका थिए । उनले भने, “सम्झौतापत्रमा हस्ताक्षर कहिले हुन्छ भन्नेबारे अझै पर्खनुपर्छ, तर त्यो भोलि भने हुने छैन ।”
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ साेसलमा लेखेका छन्, “सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ र हस्ताक्षर भएपछि हर्मुज जलडमरूमध्य तुरुन्तै सबैका लागि खुला हुनेछ ।”
इरानको संवर्धित युरेनियम भण्डारलाई संकेत गर्दै ट्रम्पले “उचित समयमा, जब सबै कुरा शान्त हुन्छ, हामी त्यहाँ गएर ‘न्यूक्लियर डस्ट’ हटाउनेछौं” भन्दै त्यसलाई पछि नष्ट गरिने बताएका छन् ।
दशकौँदेखि पश्चिमी मुलुकहरूले इरानमाथि आणविक बम विकास गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् । तर इरानले आफ्नो आणविक कार्यक्रम विद्युत उत्पादन तथा अनुसन्धानजस्ता शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ ।
ट्रम्पले सम्झौता सहज र छिटो कार्यान्वयन नभए अमेरिकासँग “अन्तिम विकल्प” पनि रहेको चेतावनी दिएका छन्, जुन पुनः प्रयोग गर्न नपरोस् भन्ने आशा व्यक्त गरेका छन् ।
यसअघि शनिबार शेहबाज शरिफले शान्ति सम्झौता अब पहिलेभन्दा धेरै नजिक पुगेको बताएका थिए ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “अन्तिम रूप दिने प्रक्रिया आगामी २४ घण्टाभित्र पूरा हुने सम्भावना छ । त्यसपछि विद्युतीय हस्ताक्षर र अर्को साता प्राविधिक तहका वार्ताहरू हुने तयारी भइरहेको छ ।”
शुक्रबार इरानी विदेशमन्त्री सायल अब्बास अराघ्चीले पनि अमेरिका–इरान सम्झौता नजिक पुगेको बताएका थिए ।
उनका अनुसार प्रस्तावित सम्झौताले लेबननमा इजरायल र हिज्बुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने व्यवस्था समेत समेटेको छ ।
इरानको सरकारी टेलिभिजनसँग कुरा गर्दै अराघ्चीले सम्झौतामा हर्मुज पुनः खोल्ने तथा इरानी बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने प्रावधान रहेको बताए । तर इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता भने पछि सुरु हुने उनले स्पष्ट पारे ।
अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही पक्षहरूको पुष्टि गर्दै इरानले आफ्नो दायित्व पूरा गरेपछि मात्र आर्थिक लाभ प्राप्त गर्ने बताएका छन् ।
यसअघि अमेरिकाबाट आएका केही रिपोर्टहरूले लेबनानलाई सम्झौतामा समावेश नगरिने संकेत गरेका थिए, तर इरानले त्यसलाई सम्झौतामा राख्न जोड दिएको बताइएको छ ।
पछिल्ला केही महिनामा यस्ता विभिन्न प्रकारका सम्झौताहरू अन्तिम चरणसम्म पुगे पनि अन्ततः सम्पन्न हुन सकेका थिएनन्
यो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि सुरु भएको थियो । त्यसपछि इरानले इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो । साथै विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग बन्द भएको थियो ।
अप्रिलमा युद्धविराममा सहमति भए पनि अमेरिका र इरानबीच छिटपुट आक्रमण जारी रहँदै आएका थिए । यसै साता दुवै पक्षले एकअर्काविरुद्ध दुई चरणका प्रतिआक्रमण गरेका थिए ।





प्रतिक्रिया