चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको राजधानी बेइजिङ पुगेका छन्। उनको स्वागत चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूले गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन पुगेका मन्त्री खनालले भ्रमणको पहिलो दिनदेखि नै विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। आज उनको पहिलो कार्यक्रम चीनमा रहेका नेपाली समुदायसँगको अन्तरक्रिया रहेको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यी सहित चीन सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक, व्यापारिक र विकास सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुने कार्यक्रम छ। सम्मेलनमार्फत नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग संवाद गर्दै नेपालमा उपलब्ध लगानीका अवसर र सम्भावनाबारे जानकारी गराउनेछन्।





प्रतिक्रिया