अमेरिका–इरान शान्ति प्रारम्भिक रूपरेखा सार्वजनिक, अन्तिम हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा



अमेरिका र इरानले शान्तिका लागि एक प्रारम्भिक रूपरेखामा सहमति भएको घोषणा गरेका छन् । सहमतिपत्रमा अन्तिम हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा हुने बताइएको छ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सम्झौतापछि तेल पुनः सहज रूपमा प्रवाह हुने भन्दै विश्व ऊर्जा बजार स्थिर हुने विश्वास व्यक्त गरेका छन् । सम्झौताको घोषणा लगत्तै अन्तर्राष्ट्रिय तेलको मूल्यमा गिरावट आएको छ।

इरानका उप–विदेशमन्त्रीले सरकारी टेलिभिजनमार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गरेका छन् भने इरानको उच्च सैन्य नेतृत्वले यसलाई तेहरानको कूटनीतिक विजयका रूपमा प्रस्तुत गरेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्रीले सबैभन्दा पहिले उक्त सहमतिबारे जानकारी दिँदै लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि अन्त्य हुने बताएका थिए ।

याे सहमतिपछिअमेरिका र इरानबीच प्रत्यक्ष युद्धको जोखिम तत्कालका लागि कम भएको छ । यस्तै विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग हर्मुज पुनः खुल्ने अपेक्षा गरिएको छ । सहमतिसँगै इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद समाधानतर्फ महत्वपूर्ण कदम चालिएको छ भने क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले लेबनानसम्बन्धी विषय पनि सम्झौतामा समेटिएको देखिन्छ ।

विश्लेषकहरूका अनुसार यो सम्झौता अन्तिम समाधान नभई प्रक्रिया सुरु भएको संकेत मात्र हो । आगामी ६० दिनभित्र इरानको आणविक सामग्री कसरी नष्ट वा बाहिर सार्ने भन्ने विषयमा विस्तृत सहमति आवश्यक छ । हर्मुज जलमार्गको वास्तविक अवस्था र सञ्चालनबारे दुवै पक्षका धारणा अझै पूर्ण रूपमा मिलेको छैन । इरानमाथिका अमेरिकी प्रतिबन्ध हटाउने समयसीमा र प्रक्रिया अस्पष्ट छ । इरानका रोक्का गरिएका सम्पत्ति कहिले र कसरी फुकुवा हुने भन्ने विषयमा पनि मतभेद देखिएको छ । लेबनानको सन्दर्भमा हेज्बुल्लाह र इजरायल सम्झौताका प्रत्यक्ष पक्ष नभएकाले त्यसको कार्यान्वयनमा चुनौती रहन सक्छ ।

बीबीसीका उत्तर अमेरिका प्रमुख संवाददाता ग्यारी ओ’डोनोह्युका अनुसार यो सम्झौता राष्ट्रपति ट्रम्पका लागि ठूलो कूटनीतिक उपलब्धि हो । यद्यपि वास्तविक परीक्षा अब सुरु हुने बताइएको छ, किनकि आणविक निःशस्त्रीकरण, प्रतिबन्ध हटाउने प्रक्रिया र क्षेत्रीय सुरक्षा व्यवस्थाबारे अझै धेरै विषयमा विस्तृत सहमति आवश्यक छ ।

यसैबीच, फ्रान्समा जारी जी सेभेन सम्मेलनमा पनि इरानको विषय प्रमुख एजेन्डाका रूपमा उठ्ने अपेक्षा गरिएको छ ।

उल्लेखनीय छ कि वर्तमान द्वन्द्व २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणपछि सुरु भएको थियो। त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकी सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित आक्रमण गरेको थियो र विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरेको थियो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ०० बजे