काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । पेट्रोल छर्केर शरीरमा आगो लगाएका उनलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर क्षति पुर्याएको अस्पताल स्रोतले जनाएको छ ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारका लागि प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका विशेषज्ञहरू सम्मिलित २१ सदस्यीय टोली खटाइएको थियो ।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार नजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनास्थलमा रहेका सुरक्षाकर्मी र स्थानीयले तत्काल आगो निभाएर उनलाई उद्धार गरेका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उपचारकै क्रममा नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया